अरनिको राजमार्ग दायाँ–बायाँ सञ्चालित रेस्टुरेन्टमा प्रहरीले पैसा उठाएर यौनव्यवसाय सञ्चालन गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
नंखेल गाविस क्षेत्रमा भएका १७ वटा रेस्टुरेन्टले बाहिरबाट युवती ल्याएर यौनव्यवसाय सञ्चालन गरेको भन्दै गाविस संयन्त्रले विरोध गर्दै विकृति रोकिदिन प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएका हुन् ।
गाविस संयन्त्रका सहभागी नेमकिपाबाहेक अन्य दलका प्रतिनिधिले प्रमुख जिल्ला अधिका केशवराज आचार्यलाई भेटेर राजमार्ग दायाँ–बायाँका रेस्टुरेन्टमा हुने यौन धन्दा, जुवातास र गुन्डागर्दी रोकिदिन आग्रह गरेका छन् ।
‘प्रहरीलाई राजमार्गमा हुने विकृति रोक्न आग्रह गर्दा यो कुरा रेस्टुरेन्ट सञ्चालकलाई सुनाउँदो रहेछ,’ कांग्रेस गाविस प्रतिनिधि शेरबहादुर पन्थले भने, ‘रेस्टुरेन्ट सञ्चालकले हामीलाई गुण्डा लगाएर उल्टै कुटपिट गर्ने धम्की दिन्छन् ।’
प्रहरीले मासिक १५ हजार रुपैयाँ लिने गरेको माओवादी गाविस प्रतिनिधि एवं रेस्टुरेन्ट सञ्चालक नकुल रानामगरले बताए । ‘एउटा रेस्टुरेन्टबाट २ हजार ८ सय रुपैयाँ उठाउँछ, त्यसमध्ये प्रहरीलाई १५ हजार रुपैयाँ मासिक दिन्छन्,’ उनले भने, ‘पैसा उठाउन महानगरीय प्रहरी परिसरका घुमुवा जान्छन्, आजभोलि पनि उठाइरहेका छन् ।’
नंखेल गाविस क्षेत्रमा सिबर्ड, हाइवे, भ्याली, भञ्ज्याङ, गाउँले घर, अरनिको, जय कटेज, गणेश, सुकुल, सिटी गाउँ, रोयल, सनराइज, हवनव, फार्म हाउस, पलासे टावर र ग्रिन भ्यू रेस्टुरेन्ट सञ्चालनमा छन् । प्रहरीले देखावटीरूपमा अधिकांशमा छापा मारे पनि अरनिको, पलासे टावर र सिटी गाउँमा कहिल्यै छापा नमार्ने गाविस संयन्त्रको आरोप छ । जगातेदेखि नंखेल, पलासे हुँदै साँगा भञ्ज्याङसम्मका हाइवे रेस्टुरेन्ट यौनव्यापार र जुवातासको अखडा बनेको एमाले प्रतिनिधि बच्चुराम थापाले बताए ।
कुन रेस्टुरेन्टले तासजुवा खेलाउँछ भन्ने जगाती प्रहरीलाई थाहा भए पनि रोक्न चासो नदेखाएको प्रशासनमा आएका स्थानीयबासी राजेन्द्र महतले बताए । त्यस्तै राजमार्ग हुँदै जाने रक्तचन्दन व्यापारीसँग रकम असुल्ने चुल्ठेमुन्द्रे पनि यस्तै रेस्टुरेन्टमा बस्ने गरेको उनले बताए ।
गाविस संयन्त्रले यस्ता रेस्टुरेन्टलाई कानुनको दायरामा ल्याउनुपर्ने माग राखेका छन् । प्रहरीले मासिक रकम उठाएको प्रजिअ आचार्यलाई सुनाएपछि उनले भक्तपुरका प्रहरी प्रमुखलाई कार्यकक्षमा बोलाएका थिए । प्रहरी उपरीक्षक नारायणसिंह खड्काले आफू मातहतका प्रहरीले पैसा नलिएको दाबी गरे । ‘मातहतका प्रहरीलाई कतैबाट रकम लिएको थाहा पाए कारबाही गर्ने चेतावनी दिइसकेको छु' उनले भने, ‘मेरो नाममा कसैले पैसा लिएको थाहा पाए मेरो नम्बरमा फोन गर्नुस्, कारबाही गर्छु ।’
No comments:
Post a Comment