Friday, April 16, 2010

पाँच हजार वर्षदेखि नबदलिएको मान्छे



मानिसभित्र सेक्स छ, किनभने सेक्स उसको जीवनको स्वभावको हिस्सा हो । ब्रह्मचर्य लिँदैमा सेक्सलाई नष्ट गर्न सकिन्न, दबाउनचाहिँ सकिन्छ । र, त्यो दबेको सेक्स उसको सपनामा आउन थाल्छ, वेलावेला प्रकट हुन थाल्छ । पाँच हजार वर्षदेखि नैतिकतामा जोड दिने शिक्षाले मान्छेलाई केवल पाखण्डी बनाएको छ ।


ओशो रजनीश


ओशो रजनीश: भन्ने गरिन्छ- यो समय अन्धकारपूर्ण समय हो, यो युग भौतिकवादको युग हो र पतनको युग हो । यो अत्यन्त गलत कुरा हो । सरासर झुट हो । यसबाट यो भ्रम पैदा हुन्छ कि पहिलेका मानिस प्रकाशपूर्ण थिए र अहिलेका मानिस अन्धकारपूर्ण छन्, यसबाट यो भ्रम पैदा हुन्छ कि पहिलेका मानिस अन्धकारमा थिएनन् र हामी अन्धकारमा छौँ । हामी अनैतिक छौँ र पहिलेका मानिस नैतिक थिए भन्ने कुरा कदापि सत्य होइन । पहिलेका मानिस नैतिक थिए भने महावीरले हिंसा नगर, चोरी नगर, असत्य नबोल भनेर कसलाई सम्झाएका हुन् ? बुद्धले कसलाई उपदेश दिए ? राम र कृष्ण कसलाई असल बन्न सम्झाइरहेका थिए ? उनीहरू असल थिए भने यी उपदेश व्यर्थ थिए, यिनको कुनै औचित्य थिएन, आवश्यकता थिएन ।

पुरानो समयमा ठुल्ठूला शिक्षक किन भए ? किनभने जहाँ अँध्यारो हुन्छ, त्यहाँ दियो आवश्यक हुन्छ । जहाँ त्रुटि हुन्छन्, त्यहाँ शिक्षक पैदा हुन्छन् । जहाँ गल्ती हुन्छन्, त्यहाँ सुधारक जन्मिन्छन् । अघिल्ला शताब्दीमा यति धेरै र यति ठूला सुधारक हुनु केको सबुत हो ? यो यस कुराको सबुत हो कि पुरानो समयका मानिस पनि हामीजस्तै थिए । उनीहरू पनि चोरी गर्थे, उनीहरू पनि बेइमान थिए, उनीहरू पनि हिंसा गर्थे र उनीहरू पनि युद्ध गर्थे । उनीहरू बेइमान थिएनन् भने इमानदारीको शिक्षा कसका लागि थियो ? उनीहरू चोर थिएनन् भने चोरी गर्नु हुँदैन भनेर कसलाई सम्झाइएको थियो ? उनीहरू हामीजस्तै मानिस थिए । मानिसमा कुनै परिवर्तन भएको छैन । पहिलेका मानिस प्रकाशमा थिएनन् । वास्तवामा मान्छे आजसम्म अन्धकारमा रहेको छ ।

०००

आज हामी यस पृथ्वीमा छौँ । हजार वर्षपछि हामीलाई याद गर्ने को हुन्छन् ? कोही हुँदैनन् । तर, गान्धी याद गरिनेछन् । हामी सबैको नाम बिर्सिइनेछन्, हाम्रा नीति/अनीति सब बिर्सिइनेछन् । हामीमध्ये केवल गान्धीको सम्झना गरिनेछ । र, हजार सालपछि मानिस सोच्नेछन् कि गान्धी यति असल थिए भने उनको समयका सारा मानिस असल थिए होलान् । तपाईंलाई थाहा छ- बुद्धको समयमा को-को यस धर्तीमा थिए, को-को बाटोमा हिँडिरहेका थिए र को-को गाउँमा बस्थे ? तपाईंलाई थाहा छ- रामको पालामा को-को थिए ? तपाईंलाई थाहा छ- कृष्णको समयमा को-को थिए ? सामान्य मानिसको कुनै कथा बाँकी रहँदैन । केवल अपवाद बाँकी रहन्छन् । र, ती अपवादका आधारमा निर्णय गरिन्छ- पहिलेका मानिस असल थिए किनभने बुद्ध असल थिए, महावीर असल थिए । निःसन्देह, गान्धी असल थिए । तर, गान्धीका समयका हामी असल छौँ त ? सत्य के हो भने सबै असल हुँदा हुन् त गान्धीलाई याद गर्नुपर्ने आवश्यकता नै रहने थिएन । महावीरको समयका सारा मान्छे असल हुँदा हुन् त महावीर उहिल्यै बिर्सिइन्थे । सम्पूर्ण अँध्यारोमा उनी एकजना मात्र चम्किरहेका थिए, त्यसैले उनलाई देख्न सकियो । सबै चम्किरहेका हुन्थे भने महावीर उहिल्यै हराउँथे ।


यस संसारमा केवल दस-पन्ध्रजना मानिसका नाम हामीलाई सम्झना छ भने त्यसको एउटै कारण हो- अँध्यारो रातमा उनीहरू मात्रै चम्किरहेका तारा थिए । तर, मानिसको जिन्दगी आजसम्म अँध्यारोमै छ ।
पाँच हजार वर्षमा पन्ध्र हजार युद्ध भएका छन् । पन्ध्र हजार युद्ध कसले लडे ? यदि उनीहरू असल मानिस थिए भने यी युद्ध को लडिरहेको थियो ? हिन्दुस्तानको जमिनमा मात्रै दुई हजार राज्य थिए र हरेक दिन यस जमिनमा लडाइँ चलिरहेको थियो । को लडिरहेको थियो, यो लडाइँ ? के लडाइँ प्रेमले लडिन्छ ? इमानदारीले लडिन्छ ? महाभारत भयो हाम्रो मुलुकमा । जसलाई हामी आज असाध्यै राम्रा र असल मानिस भन्छौँ उनीहरू आफ्नी पत्नीलाई जुवाको दाउमा राख्न सक्थे । यी कस्ता असल मानिस थिए होलान् ? असल मानिस थिए भने उनीहरूले किन मुलुकका लागि लडेनन् ? सिंगो मुलुकलाई सायद दुई चार/हजार वर्षको ऋण लगाएर लडे । जुवा खेल्थे र पत्नीलाई दाउमा लगाउन सक्थे किनभने असल मानिस थिए !

आजसम्म यस धर्तीमा जति किताब लेखिएका छन्, सबैको एउटै भनाइ छ । पुरानाभन्दा पुराना किताब पनि यही भन्छन् कि पहिलेका मानिस असल थिए । तर, पहिलेका मानिस कहिले थिए ? तपाईंले कुनै यस्तो किताब पढ्नुभएको छ जसले आजका मानिस असल छन् भनेको होस् ? चीनमा भेटिएको संसारको सबभन्दा पुरानो किताब (छ हजार वर्ष पुरानो)ले पनि पहिलेका मानिस असल थिए, आजका मानिस नष्टभ्रष्ट भए भन्छ ।

०००

पहिलेका मानिसलाई असल भन्नुको कारण यो होइन कि उनीहरू असल थिए । अहिलेका मानिसका निन्दा गर्न, उनीहरूलाई तल्लोस्तरका देखाउन पहिलेका मानिसलाई असल भनिएको हो । पहिलेका मानिस असल थिए भने उनीहरूबाट आजका खराब मानिस कसरी पैदा भए त ? पहिलेको संस्कृति र सभ्यता राम्रा थिए भने आज यी दुष्परिणाम कसरी आए ? यी तिनैका त फल हुन्, तिनैका त परिणाम हुन् ।

मैले भन्न खोजेको के हो भने यो सवाल कुनै युगको होइन कि मान्छे अन्धकारमा छ । मानिसको चित्त जो आजसम्म उस्तै छ, त्यसको कारण यो अँध्यारो पैदा भएको हो । यो युगको भूल होइन । मानिसको चित्तको परिणाम हो । र, जबसम्म हामी मान्छेको मन बदल्ने तरिका र विधि पत्ता लगाउँदैनौँ र जबसम्म ठूलो परिमाणमा मानिसको चेतनालाई बदल्ने उपाय गर्दैनौँ, धर्तीमा अन्धकार रहनेछ । यो कुनै युगको सवाल होइन । यो सत्य युग र कलियुगको सवाल होइन । यो सवाल मानिसको मनको हो । र मानिसको मन पाँच हजार वर्षदेखि उस्तै छ । यसमा अलिकति पनि परिवर्तन भएको छैन ।
यी पाँच हजार वर्षमा मानिसको मन बदल्ने लाखौँ प्रयास भए । तर, यी प्रयास किन विफल
भए ? र, आज पनि मानिसलाई बदल्न हामी तिनै चिज गरिरहेका छौँ जो पाँच हजार वर्षदेखि असफल भएका छन् । हामी यिनैलाई दोहोर्‍यारहन्छौँ भने आउने समय पनि अन्धकारपूर्ण नै हुनेछ ।

०००

के कारणले मानिसको मन बदलिन सकेको छैन ? के कारणले मानिस गोल-गोल घुमिरहेको छ ? शताब्दी बित्छन्, तर मानिस जहाँको त्यहीँ रहन्छ । ती कारणमध्ये एक यो हो कि हामीलाई निरन्तर भनिन्छ- मानिस नैतिक हुनुपर्छ । यो शिक्षा धेरै पुरानो हो । तर, मानिस किन नैतिक भएन त ?
धार्मिक नभईकन मानिस नैतिक हुन सक्दैन । तर, हामीलाई त बताइएको छ कि नैतिक भएपछि धार्मिक भइन्छ, नैतिक नभई धार्मिक हुन सकिन्न । यो विल्कुल उल्टो र गलत कुरा हो । नैतिकता धार्मिक मान्छेको सुगन्ध हो । भित्र, चित्तमा धर्म छ भने जीवनमा नीति हुन्छ । अन्तष्करण परिवर्तित भयो भने आचरण बेग्लै हुन्छ । नीतिको सम्बन्ध आचरणसँग हुन्छ, धर्मको अन्तष्करणसँग । तर, पाँच हजार वर्षदेखि हामी भनिरहेका छौँ कि मानिस नैतिक हुनुपर्छ । अन्तष्करण नबदली आफ्नो आचरण बदल्ने मानिस नैतिक त हुन सक्दैन, बरु विकृत अवश्य हुन्छ । त्यो मान्छे आफ्नो जीवनलाई नैतिक बनाउन के गर्छ जसको भित्र सेक्स छ, जसको भित्र सेक्स हुन्छ, हुनु पनि पर्छ किनभने सेक्स उसको जीवनको स्वभावको हिस्सा हो । त, त्यो मान्छे के गर्छ ? ब्रह्मचर्य लिन्छ । ब्रह्मचर्यले के हुन्छ ? यति कि ऊ सेक्सलाई दबाउँदै जान्छ, दबाउँदै जान्छ । त्यो दबेको कामुकता, त्यो दबेको सेक्स नष्ट हुँदैन । बरु, उसको अचेतन मनका पत्रमा घुम्न थाल्छ, सपनामा आउन थाल्छ, कमजोर क्षणमा प्रकट हुन थाल्छ । ऊभित्र निरन्तर अवस्थित सेक्सले उसलाई भयभीत बनाउन थाल्छ । यस भयले उसलाई टाढा लैजान्छ, मानवबस्ती छोड्न लगाउँछ र जंगल पुर्‍याउँछ । स्त्री देख्यो भने ऊ आँखा बन्द गर्छ, ब्रह्मचर्य टुट्ला कि भनेर डराउँछ । किन डराउँछ ? किनभने सेक्सका लहर उसलाई धक्का दिइरहेका हुन्छन् ।

०००

दुई भिक्षु नदी तर्न खोजिरहेका थिए । एक युवा थियो भने अर्का वृद्ध । तीस वर्षदेखि ब्रह्मचर्यमा रहेको थियो, वृद्ध । एक युवती नदीकिनारमा उभिइरहेकी थिई । उसलाई पनि नदी पार गर्नु थियो । तर, नदी गहिरो भएकाले एक्लै तर्ने आँट गर्न सकेकी थिइन । युवतीको हात समातेर नदी पार गराइदिनुपर्ला भन्ने सोच आउनासाथ वृद्ध भिक्षु पसिना-पसिना भयो । तीस वर्षदेखि उसले जुन सेक्सलाई वशमा गरेँ भन्ठानेको थियो, त्यही सेक्स ऊभित्र अत्यन्त तीव्रताका साथ खडा भएको थियो । उसका हातपाउ कामिरहेका थिए, ऊ भयभीत थियो । जब कि उसले त्यस युवतीलाई छोएकोसम्म थिएन । आँखा झुकाएर, राम-राम जपेर उसले नदी पार गर्‍यो । तर, ऊभित्र राम थिएन, थिई त त्यही युवती ।

नदी पार गरेपछि उसले र्फकेर हेर्‍यो- उसको युवासाथी युवतीलाई काँधमा हालेर नदी तर्दै थियो । वृद्ध भिक्षुलाई रिस उठ्यो, 'भिक्षु भएर काँधमा युवती बोक्ने ! आश्रममा गएपछि यसको झाँको झार्नेछु ।'
आश्रममा उसले युवा भिक्षुलाई खुब हपार्‍यो, 'ब्रह्मचर्यको प्रतिज्ञा लिएको मानिसले स्त्रीजातिलाई छुनु पनि हुन्न । तैँले त काँधमा बोकिस् । यो कुरो गुरुलाई नभनी छाडि्दनँ ।'
युवा भिक्षुले हाँसेर भने, 'हे वृद्ध भिक्षु, मैले त त्यस युवतीलाई नदी तर्नासाथ काँधबाट उतारिदिएको थिएँ, तर तपाईंले त अहिलेसम्म उसलाई काँधमा बोकिरहनुभएको रहेछ ।'

०००


जसलाई हामी दबाउँछौँ, त्यो नष्ट हुँदैन । भित्र लुकेर बस्छ । जति दबाउँछौँ, त्यति भित्र गएर बस्छ र वेला-वेला प्रकट हुन्छ ।
हामी सत्य बोल्ने ब्रत लिन्छौँ, तर हामीभित्र असत्य लुकेर बसेको हुन्छ । हामी इमानदार हुने कसम खान्छौँ, तर भित्रबाट बेइमानी धक्का दिइरहेको हुन्छ । यो दबाउने प्रक्रियामा मानिस दुई हिस्सामा बाँडिन्छ, देखिने हिस्सा र हुने हिस्सा । देखिने र हुनेबीचको संघर्ष जीवनभर चलिरहन्छ । र, यस संघर्षले जीवनलाई नर्क बनाइदिन्छ । अब दुइटा बाटा हुन्छन् । यदि त्यो मानिस बाठो छ भने पाखण्ड यौटा बाटो हुन्छ । बाहिरबाट जस्तो देखिन्छ, ऊ त्यसैमा कायम रहन्छ, तर यौन कामनाको लुकिछिपी परिपूर्ति गर्छ । नैतिक शिक्षाको अनिवार्य परिणाम पाखण्ड भएको छ । सिंगो मानवजाति पाखण्डी भएको छ ।
कदाचित सेक्सलाई दबाउने मानिस पाखण्डी बनेन भने उसका लागि दोस्रो बाटो हो- पागल हुनु । किनभने, अतृप्त सेक्सको तनाब झेल्दा-झेल्दा ऊ टुट्न थाल्छ र विक्षिप्त हुन्छ ।

रजनीशको एक प्रवचनमा आधारित
स्रोत:

Thursday, April 15, 2010

फिल्मी खबर २०६६ को



फिल्म निर्माणमा अप्रत्यासित मात्रामा तीव्रता आए पनि गत वर्ष ०६६ ले नेपाली फिल्मको भविष्य उज्ज्वल हुने संकेत देखाएन । फिल्म निर्माणमा यस वर्ष पनि संख्या हावी भयो । वर्षांदेखि खड्कँदै गएको स्तरीय नेपाली फिल्मको अभाव ०६६ ले पनि पूरा गर्न सकेन । ०६६ को वैशाखदेखि चैत मसान्तमा डिजिटल र सेलुलोइड गरी ४२ वटा फिल्म सेन्सर पास भए भने ०६५ मा सेन्सर भएका समेत गरी त्यत्तिकै संख्यामा फिल्म प्रदर्शन भए । तर, आँैलामा गन्न सकिने फिल्मले मात्र मुनाफा आर्जन गर्न सफल भए । केहीले लगानीसम्म उठाए भने बाँकी फिल्म व्यावसायिक रूपले असफल रहे ।


डिजिटल प्रविधि हावी हुनाले इतिहासमै बढी संख्यामा फिल्म निर्माण भए । फिल्म धेरै बन्नाले प्रदर्शनका लागि हल पाउन निर्माता-निर्माताबीच हानाथाप नै पर्‍यो । एकैसाथ दुई/तीनवटा नयाँ फिल्म जुधाउनुपर्ने बाध्यताले गर्दा प्रदर्शित अधिकांश फिल्मले घाटाको व्यापार गरे ।

कुन फिल्म हिट ?

०६६ मा प्रदर्शित फिल्ममध्ये नायक श्रीकृष्ण श्रेष्ठको निर्माण र शिव रेग्मीको निर्देशनमा बनेको कहाँ भेटिएला सुपरहिट साबित भयो । कहाँ भेटिएलाले गरेको व्यापारको अनुपातमा अर्थापार्जन गर्न नसके पनि अर्का नायक निखिल उप्रेतीको निर्माण र सुरेश दर्पण पोखरेलको निर्देशनमा बनेको निशाना, गोविन्दा शाहीको निर्माण र दयाराम दाहालको निर्देशनमा बनेको कहाँ छौ कहाँ र डिजिटल प्रविधिको इकु दि जंगलम्यानले पनि व्यावसायिक सफलता हासिल गर्न सफल भए ।


वर्षान्तामा प्रदर्शनमा आएका ऋषि लामिछाने निर्देशित आफ्नो मान्छे आफ्नै हुन्छ, मदन घिमिरे निर्देशित दोस्ती र ज्ञानेन्द्र देउजा निर्देशित हिफाजतले पनि उल्लेखनीय व्यवसाय गरिरहेका छन् । बाटुली, रक्षक, धूम, अर्जुन देव तथा पहिलो-पहिलो मायाले भने औसत व्यवसाय गर्न सफल भए ।


ठूला बजेटका फिल्म असफल

०६६ को दसँताका ठूला बजेटका र निकै आशा गरिएका तीन फिल्म, छाडी गए पाप लाग्ला, कुसुमे रुमाल र मेरो एउटा साथी छ एकैसाथ प्रदर्शनमा आए । तर, अपशोच ! यी तीनवटै फिल्मले आशातीत व्यवसाय गर्न सकेनन् । निरक पौडेलले पुरानो कुसुमे रुमालको सिक्वेलस्वरूप नयाँ कुसुमे रुमाल निर्देशन गरे । नयाँ कसुमे रुमालले सिल्भर जुब्ली मनाएको तुलसी घिमिरे निर्देशित पुरानो कुसुमे रुमालको साख एकछेउ पनि जोगाउन सकेन ।

उज्ज्वल घिमिरेको निर्देशनमा बनेको छोडी गए पाप लाग्ला मोफसलमा असफल भयो । जसका कारण निर्देशक उज्ज्वलले अरूको लगानीमा फिल्म निर्देशन नगर्ने घोषणै गरे । प्रभुशमशेर राणाले निर्माण गरेको मेरो एउटा साथीको लगानी बढी भएकाले चर्चाअनुसारको व्यवसाय गर्न सकेन । तुलसी घिमिरे निर्देशित माया त माया हो फिल्म मोफसलमा असफल साबित भयो । विजय थापाको निर्देशनमा बनेको दाग नमेटिएको घाउले त झन् लगानीको आधा रकम पनि असुल गर्न सकेन ।

सफल निर्देशक

०६६ मा कहाँ भेटिएलाबाट निर्देशक शिव रेग्मी अब्बल निर्देशकमा दरिए । यही वर्ष उनले मह जोडीलाई लिएर आप्रवासी नेपालीको लागानीमा हासी देउ एक फेर र भुवन केसीको साथी म तिम्रो निर्देशन गरे ।

कहाँ छौ कहाँबाट दयाराम दाहाल निर्देशकका रूपमा सफल देखिए भने नेपाल र भारतको सीमा विवादको विषयमा नवल खड्काको निर्माणमा दसगजा फिल्म निर्देशन गरेर उनी चर्चामा आए ।

निशानाको सफलताले सुरेश दर्पण पोखरेललाई सम्भावना बोकेको निर्देशकका रूपमा परिचित गरायो ।

दोस्तीबाट मदन घिमिरे र हिफाजतबाट ज्ञानेन्द्र देउजाको कामको प्रशंसा भयो भने फिल्मले व्यावसायिक सफला हासिल गर्न नसके पनि 'मेरो एउटा साथी छ' का निर्देशक सुदर्शन थापाले आशलाग्दो निर्देशकीय क्षमता प्रस्तुत गरे ।

चलेका नायक

अभिनीत र प्रदर्शित फिल्म संख्याका आधारमा ०६६ मा राजेश हमाल अग्रस्थानमा रहे । सफलताका हिसाबमा भने श्रीकृष्ण श्रेष्ठ अगाडि रहे । त्यसपछि विराज भट्ट चले । यो वर्ष उनले उल्लेख्य मात्रामा नेपालीसहित भोजपुरी फिल्ममा पनि अभिनय गरे । विराज अभिनीत बाटुली, कहाँ छौ कहाँ, आफ्नो मान्छे आफ्नै हुन्छ र दोस्तीले व्यावसायिक सफलता हासिल गरे भने महान, इज्जतदार, सलाम छ मायालाई, तोड, नैना रेशम असफल भए ।

निखिल उप्रेती अभिनीत निशाना र दोस्तीबाहेक अधिकांश फिल्मले यो वर्ष घाटाको व्यापार गरे । उनी अभिनीत जिन्दगी, क्यारेङग्याङ २, माया त माया हो, दाग, कसलाई दिऊँ यो जोबनलगायतका फिल्म फ्लप भए । बितेको वर्षमा नायकहरू राजबल्लभ कोइराला, आर्यन सिग्देल, दिलीप रायमाझी, सुमन सिंह, नीरज बराल, सुमन सिंह र मुकेश ढकाल फिल्ममा व्यस्त भए ।

चलेका नायिका

विगतको वर्षझँ ०६६ मा पनि चल्तीको नायिकाका रेखा थापा नै पहिलो नम्बरमा परिन् । अभिनीत फिल्मको संख्याका आधारमा पनि उनी अन्य नायिकाभन्दा अगाडि परिन् । कहिले माओवादी नेता प्रचण्डसँग नाचेर त कहिले संसारकै होचा व्यक्ति खगेन्द्र थापालाई काखमा लिई म्वाइँ खाएर उनी चर्चित भइन् ।


वर्षान्तमा आफैँले निर्माण गरेको हिफाजत फिल्ममा लगाएको हरे राम हरे कृष्ण लेखेको गेरु बस्त्रका कारण उनको चर्चा चुलिएको छ ।


अर्की नायिका झरना थापा कहाँ छौ कहाँमा गरेको अभिनयबाट चर्चामा आइन् । ०६६ मा उनी अभिनीत आधा दर्जन फिल्म प्रदर्शनमा आए भने सोही साल चलचित्र प्राविधिक संघले आयोजना गरेको अवार्डमा म तिमीविना मरिहाल्छुबाट सर्वाेत्कृष्ट नायिकाको अवार्ड चुम्न सफल भइन् ।

अरुणीमा लम्साल आफ्नो मान्छे आफ्नै हुन्छमा नवनायक मुकेश ढकालसँग गरेको टङ किसका कारण चर्चामा आइन् भने उनी अभिनीत अन्य उल्लेखनीय फिल्म प्रदर्शन भएनन् । ०६६ मा सञ्चिता लुइँटेल, रेजीना उप्रेती, ऋचा घिमिरे, गरिमा पन्त पनि व्यस्त रहे । कहाँ भेटिएलाबाट नायिका बनेकी श्वेता खड्काले अर्काे फिल्म हासी देउ एक फेरमा पनि अभिनय गरिन् ।

स्रोत: