'म चौध वर्षीय अब्दुस सलामको एउटै सपना थियो- फिदाइ बन्ने । फिदाइ अर्थात् आत्मघाती हमला गर्ने व्यक्ति । म फिदाइ भएर आफ्नो शरीरलाई टुक्रा-टुक्रा पार्न चाहन्थँे र अमेरिकीहरूलाई मार्न चाहन्थेँ । फिदाइले स्वर्ग प्राप्त गर्छ । म स्वर्ग प्राप्त गर्न चाहन्थेँ ।'
मेरो नाम अब्दुस सलाम हो । १४ वर्षको भएँ । पाकिस्तानको कराँचीमा बस्छु । सोहराब गोठ भन्ने सानो नगरमा मेरो घर छ । हामी ६ दाजुभाइ छौँ । मेरो बुबाको व्यापार छ । निर्माणयन्त्र भाडामा दिन्छन् उनी । मेरो जेठो दाइ बुबालाई व्यापारमा सहयोग गर्छन् ।
केही महिना अघिसम्म पनि ममा फिदाइ बन्ने भूत सवार थियो । फिदाइ भनेको आत्मघाती हमला गर्ने मान्छे हो । म फिदाइ भएर अफगानिस्तान जान चाहन्थेँ, र अमेरिकीहरूलाई मार्न चाहन्थेँ । इस्लामिक उग्रवादीहरू हामीलाई भन्ने गर्थे, 'हेर, केटा हो ! तिमीहरूले आफूलाई बमले उडायौ भने सीधै स्वर्ग पुग्नेछौ । यसो गर्नु अल्लाहको पवित्र काम गर्नु हो ।' उनीहरूले हाम्रा दिमागमा यस्ता कुरा गहिरोसँग भरिदिएका हुन्थे । हामीलाई प्रेरित गरिन्थ्यो, रटाइन्थ्यो, घोकाइन्थ्यो । हामी उनीहरूका कुरामा यसरी एकोहोरिएका हुन्थ्यौँ, यसरी लठि्ठएका हुन्थ्यौँ कि हामीलाई लाग्थ्यो- हाम्रो जन्म केवल फिदाइ हुनका लागि भएको हो ।
मलाई उनीहरूमाथि पूरा विश्वास थियो । आफूलाई बलिदान गरेर स्वर्ग पुग्न चाहन्थेँ म । धर्मयुद्ध -जिहाद)मा सहिद हुन चाहन्थेँ ।
जाहिर, शेर रहमान र जैनुल्लाह मभन्दा जेठा छन् । उनीहरू तालिवान हुन् । जाहिर र रउफ त अफगानिस्तानबाट आएका हुन् । उनीहरूले त्यहाँ युद्ध लडेका छन् ।
मेरा पाँच दाजुभाइ छन् । जेठो दाइ र बुबा मिलेर व्यापार चलाउँछन् ।
हामी सोहराब गोठमा बस्न थालेको तीस वर्ष भयो । यो कराँचीमा पर्ने सानो नगर हो ।
म जाहिरको किराना पसलमा आउने जाने गर्थें । त्यहाँ बस्ने गर्थें । हामी जिहाद, फिदायिन हमला -आत्मघाती हमला) र यस्तै-यस्तै विषयमा घन्टौँ कुरा गथ्र्यौं ।
म जाहिरलाई तीन वर्षदेखि चिन्छु । ऊ पाको मान्छेजस्तो कुरा गर्छ । सबै कुरा थाहा छ उसलाई । इस्लाम, जिहाद, अमेरिका, न्याय, अन्याय, बदला, बलिदान.... ऊ सबै कुरा जान्दछ । बोल्न पनि सिपालु छ । मलाई उसको कुरा सुन्न खुब मन पथ्र्याे ।
एक दिन जाहिरले मलाई पसलको एउटा कुनामा लगेर खुसुक्क भन्यो, 'बुझिस् अब्दुस, म त फिदाइ बनेर कतै टाढा जाँदै छु ।' कतै भनेको कहाँ र टाढा भनेको कति टाढा उसले बताएन ।
मैले उसलाई सोधेँ, 'तिमी किन फिदाइ बन्न खोजिरहेका छौ ? तिमीलाई बमलेे आफ्नो शरीर धुजाधुजा पार्न किन चाहन्छौ ? तिमीलाई बाँच्न मन लाग्दैन ?'