Friday, April 30, 2010

संविधान नबनाउने दोषी को ?



गगन थापा
संविधान बनाउने जिम्मेबारी लिएको संविधानसभाले तोकिएको समयभित्र संविधान बनाउन असफल भयो । 'दोष कसको ?' त्यही सभाको सदस्यको हैसियतमा यो दोष मेरो हो, मेरो पनि हो । आफूले लिएको जिम्मा पूरा गर्न नसक्ने यो अयोग्यताका निम्ति विनीत भएर क्षमा याचना गर्दै यसका निम्ति तय गरिने जरिवाना स्वीकार्न आफूलाई तयार पनि राखेको छु ।
तर, संविधानसभाले संविधान बनाउने कार्यलाई, सदस्यहरूको उत्सुकता/अनुत्सुकता, योग्यता/अयोग्यताको सन्दर्भमा मात्र हेरियो भने न त यसका वास्तविक अड्चन थाहा लाग्लान् न त अगाडि बढ्ने बाटो भेट्न सकिएला । संविधानसभा अगाडि सबै दलहरूले आ-आफ्नो घोषणापत्र तयार गरेका थिए । यो बडो सहज काम थियो । तर, संविधानसभामा त भिन्न-भिन्न घोषणापत्र भएका करिब दुई दर्जन दलहरू छन् । दलहरूको नाम फरक तर काम एउटै प्रकृतिको भएको भए अर्थात् दलहरूको आधारभूत मूल्य र मान्यताहरू एउटै भएको भए सायद दुई दर्जन घोषणापत्रबाट साझा पत्र तयार गर्न तुलनात्मकरूपमा सहज हुन्थ्यो होला । तर, सत्य त यो संविधानसभामा यस्ता दलहरू छन् जसका आदर्श, सिद्धान्त, विश्लेषण पद्धति त भिन्न छन् नै समाजको विगत र वर्तमानको समीक्षा गर्ने सबै तौरतरिका नै भिन्न छन् । यिनको भविष्यको रोजाइ पनि भिन्न छ ।

संविधानसभाले यी भिन्नताहरूको बीचमा जीवन्त छलफल गराउँदै साझा विषयसूची बनाउँछ भन्ने अपेक्षा हो । करिब १५ महिनामा सभामा नयाँ संविधानका लागि करिब ४ सय धाराहरू प्रस्तावित गर्‍यो । यी धाराहरूमध्ये करिब ४० धारामा मात्रै दलहरूको बीचमा मतभेद छ । संविधानसभाको प्रक्रिया र सीमालाई बुझ्ने हो भने नै यी मतभेदहरू संविधानसभामा बहस कम भएर सिर्जना भएका हुन् त्यसैले बहस धेरै गराउने हो भने एउटै मत निस्कन्छ भन्ने कुरा गलत भएको बुझ्न सकिएला । बरु संविधानका आधारभूत सिद्धान्तहरूमा दलहरूबीच सहमति नै नगरी संविधानसभा गठन गरिएकाले यो समस्या आएको हो भन्ने बुझिएला ।

१२ बुँदेदेखि गणतन्त्र घोषणासम्मको यात्रा तनावपूर्ण थियो तर पनि सम्भव भयो किनकि यो ठाउँसम्म सबैलाई आइपुग्नु थियो । यो भन्दा अगाडि कहाँ पुग्न खोजिएको हो ? हामी सबैलाई आ-आपmनो बाटो थाहा

छ । तर, साझा गन्तव्य तय नगरेसम्म हामी हिँड्ने साझा बाटो तय हुँदैन । संविधानसभाले यस्तो साझा गन्तव्य तय गर्ने होइन, यो त निश्चित गरिएको गन्तव्यसम्म पुर्‍याउने एउटा साझा बाटो हो ।

माथि भनिएको विषयलाई पुष्टि गर्न संविधानसभामा प्रस्तावित मस्यौदामा कांग्रेस र माओवादीबीचमा भएका केही आधारभूत मतभिन्नताहरू हेरौँ । माओवादी प्रस्ताव छ, सबैले राजनीतिक दल खोल्न पाउँछन् तर राष्ट्रघाती कार्य गर्ने, विदेशी शक्तिहरूको दलाली गर्ने जस्ता दलमाथि प्रतिबन्ध लगाइने छ । स्मरण रहोस्, माओवादीको दस्तावेज अनुसार नेपाली कांग्रेस विदेशीको दलाल हो । कांग्रेसको प्रस्ताव छ, राजनीतिक दल खोल्न पाउने स्वतन्त्रतामा यस्तो प्रतिबन्ध लगाइनु हुँदैन । माओवादीको प्रस्ताव अनुसार एउटा व्यक्तिले कति सम्पत्ति राख्न पाउँछ भन्ने निर्धारण अब राज्यले गर्छ । कांग्रेसको प्रस्ताव राज्यले तय गरेको कानुनको परिधिभित्र रहेर सम्पन्न बन्न पाउने अधिकार कसैले खोस्न पाउँदैन । माओवादी शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनका सिद्धान्तलाई वाहियात भन्छ । कांग्रेसको बुझाइमा न्यायपालिका संसदको मातहतमा रहने माओवादी प्रस्तावलाई स्वीकार गर्ने हो भने यस्तो पद्धति लोकतान्त्रिक पद्धति नै हुँदैन । माओवादीको प्रस्ताव अनुसार जातीय अग्राधिकार हुन्छ । उदाहरणका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा नेवार जातिका नागरिकहरू पहिलो दर्जाका नागरिक हुन् भने अन्य दोस्रो दर्जाका । अनि यो ठाउँभन्दा बाहिर रहने सबै नेवारहरू दोस्रो दर्जाका, उदाहरणका लागि बुटवलका नेवार वा पोखराका नेवार । कांग्रेसको प्रस्ताव अनुसार यो मुलुकका सबै जाति, भाषा, धर्म, क्षेत्रका नागरिकहरूको समअधिकार रहनुपर्छ तर नागरिकहरू जातकै आधारमा विभिन्न दर्जाका हुने कुरा स्वीकार्न सकिन्न । यी केही उदाहरणहरू हुन् मतभेदका । संविधानसभाको बैठक कक्षमा सदस्यहरूले उठ्दै, बोल्दै गरेर यी मतभेदहरू टुंगिन सक्दैनन् । दलहरूले कहाँ जाने हो, कस्तो समाज, कस्तो राजनीति स्थापित गर्ने हो भनेर टुंग्याएको कुरालाई लिपिबद्ध गर्ने र यो साझा विचारलाई जनअनुमोदन गराउने काम मात्र गर्न सक्छ संविधानसभाले ।

एउटा अर्को विषय हेरौँ । शासकीय स्वरूपका सन्दर्भमा, माओवादीको प्रस्ताव कार्यकारी राष्ट्रपतीय प्रणाली छ भने कांग्रेसको प्रस्ताव संसदीय प्रणाली छ । दुवै प्रस्तावका पक्षका संविधानसभालाई सुझावहरू आएका छन् । संविधानसभामा जति पटक छलफल गरे पनि माओवादी र कांग्रेस आ-आपmनै प्रस्तावको पक्षमा उभिन्छन् । मतदानद्वारा टुंग्याऊँ भने त्यो प्रस्ताव सभाबाट पारित नै हुँदैन । अर्को एक हजार घन्टा यही विषयमा सभामा छलफल चलाउने हो भने पनि न कांग्रेस थाक्छ न माओवादी । यस्तो विषयमा संविधानसभाको छलफलबाट सहमति जुट्नै सक्दैन । कि कांग्रेसले माओवादीको प्रस्ताव मान्नुपर्‍यो कि माओवादीले कांग्रेसको प्रस्ताव मान्नुपर्‍यो या दुवैले स्वीकार्ने कुनै नयाँ प्रस्ताव चाहियो । हो, यसरी एकले अर्कालाई मनाउने काम वा नयाँ बाटो खोज्ने काम संविधानसभाभित्रको बहसबाट होइन दलहरूबीचको सहमतिबाट आउँछ अनि त्यो सहमतिलाई लिपिबद्ध गर्ने काम मात्र गर्न सक्छ सभाले । त्यसो भए प्रश्न उठ्छ औचित्य के हो त संविधानसभाको ? जनअनुमोदन गराउँदै बनेको संविधानमा जनताको स्वामित्व र अपनत्व स्थापित गराउनका लागि नै यसको औचित्य हो ।

माओवादीले जनसंविधान भनेर पटक-पटक भनिरहने तर नयाँ संविधान कस्तो भयो भने जनसंविधान हुने, के- छुट्यो भनेचाहिँ जनसंविधान नहुने ? यो स्पष्ट नपार्नुले पनि अनेक भ्रमहरू सिर्जना भएका छन् । शिक्षा, स्वास्थ्य, आवास, सबै नागरिकहरूको मौलिक अधिकारको रूपमा रहने विषयदेखि दलित, महिला, विपन्न, बालबालिका, युवा, अपांग, आदिवासी, अल्पसंख्यक, मजदुर, किसान यस्ता सबै समूहहरूको अधिकार, राज्यको कल्याणकारी चरित्र, सामाजिक न्यायसहितको समावेसी राज्य, सामेली राजनीति यस्ता विषयहरूमा सबै दलको एउटै मत छ । आर्थिक, सामाजिक विषयहरूमा एउटै मत हो भने त्यसो भए के हो त जनसंविधान ? सबैले दल खोल्न नपाउने, सम्पत्ति सीमा हुने, जातको आधारमा दर्जा हुने, आखिर जनसंविधानको मूल तत्त्व के हो ? यी विषयहरू प्रष्ट नहुनु नै संविधानसभाले आपmनो काम सम्पादन गर्न नसक्नुको कारण हो । किनकि यो संविधान बन्यो भने लोकतन्त्रको मूल्यसहितको नै बन्छ, नत्र बन्न सक्दैन ।

अतः प्रष्ट छ, राजनीतिक दलहरूबीच नेपालको भावी राजनीति कसरी अगाडि बढाउने भन्ने विषय मिलेको छैन, कस्तो चरित्रको समाज र राजनीति भन्नेमा कुरा मिलेको छैन । संविधानसभा राजनीतिक असहमतिको कारक होइन बरु यो राजनीतिक असहमतिको बन्धक बनेको हो । अर्कोतर्फ, संविधान निर्माणको विषयलाई शान्ति प्रक्रिया र सत्तासँग निरपेक्ष राखेर हेर्नुपर्छ भन्ने कुरा पनि उपदेश मात्र हो किनकि संविधान नेपालमा बन्दै गरेको, शान्ति प्रक्रिया चाहिँ उता अपि|mकाको कुनै देशमा हुँदै गरेको पक्कै होइन । राजनीति मिले संविधान बन्छ । शान्ति र सत्ताको विषयमा कुरा मिले न राजनीति मिल्ला । अतः संविधान किन बनेन भन्ने प्रश्नमा शान्ति र सत्ताको विषयका कुरा मिलेनन् त्यसैले राजनीति मिलेन, राजनीति नमिल्दा संविधान बनेन भन्ने उत्तर पनि सही हुन्छ ।

अबको प्रश्न, के त्यसो भए संविधान बन्दैन ? बन्छ तर केही सत्यलाई आत्मसाथ गर्न सकेको सर्तमा मात्रै । मदन भण्डारी बन्नु भनेको कायरता होइन, साहस हो भन्ने पुष्पकमल दाहालले बुझ्न सके भने नै माओवादीले माओवादको ध्वजा विसर्जन गर्ला, लोकतन्त्रको ध्वजा बोक्ला, अनि शान्ति प्रक्रिया र संविधान निर्माण फगत कार्यनीति नभएर प्रतिबद्धता बन्ला अनि राजनीति मिल्छ, शान्ति र सत्ताको कुरा मिल्छ, संविधान बन्छ । कांग्रेस, एमालेको नेतृत्वले यदि बुझ्न सके कि उग्रवामपन्थको प्रहारबाट जोगिन दक्षिणपन्थी काखमा आश्रय खोज्न खोज्नु आत्मनाशी प्रवृत्ति हो, बुझ्न सके कि नेपालभित्र भएका आन्दोलन र विद्रोहको ज्ञानको सही उपयोगले लोकतन्त्रलाई कुरूप होइन, समृद्ध बनाउँछ, अनि जनताले हामीलाई हराएकै हुन् भन्ने बुझ्न सके भने राजनीति मिल्छ, शान्ति र सत्ताको कुरा मिल्छ, अनि संविधान बन्छ ।

यति गर्न सकियो भने अगाडि बढ्ने उपाय छ । ०६६ मंसिर २१ गते कांग्रेस संसदीय दलको बैठकमा पूरक समझदारीको कार्यसूची प्रस्तुत गरेको थिएँ । -हेर्नुहोस् कान्तिपुर, मंसिर २४) । अझै पनि बाटो यही

हो । यो सरकारको ठाउँमा सहमतीय प्रणालीको आधारमा संविधानसभाभित्र रहेका दलहरूको बीचमा शक्तिको बाँडफाँड गरी सत्ता-साझेदारीको सरकार गठन गर्ने सहमति गरौँ । कसको नेतृत्व, शक्तिको बाँडफाँड कसरी ? यो विषयमा मौन रहौँ । नयाँ सरकार बनाउने भन्ने कुरा मिलेपछि अब दोस्रो विषय शान्ति प्रक्रिया टुंग्याऊँ । यो दोस्रो विषयमा नै अन्य दलहरू माओवादीका सन्दर्भमा उठाएका अनेक प्रश्नहरूको निकास खोजिनुपर्छ । तेस्रो विषय संविधानका अन्तरवस्तुका सन्दर्भमा समझदारी कायम गरौँ । दोस्रो र तेस्रो विषयमा समझदारी कायम गर्न दलहरूले निर्वाह गर्ने भूमिका, देखाउने लचकता र आर्जन गर्ने विश्वासले नै सत्ता साझेदारीको सरकार बनाउने पहिलो सहमतिको विषयमा थप कुरा टुंग्याउन आधार दिनेछ । शान्ति र संविधानको विषय माओवादीको कार्यनीतिक नारा मात्र होइन भने दोस्रो र तेस्रो विषयमा समझदारी कायम गराउन ठूलो दलको रूपमा सर्वाधिक भूमिका उसैले निर्वाह गर्ला अनि सरकारको नेतृत्वको दाबी सही ठहरिएला र कार्यान्वयन पनि होला । शान्ति र संविधानलाई नाराचाहिँ बनाउने तर यसका निम्ति केही पनि नगरी लाठी र खुकुरी अनि दिग्भ्रमित र आफैले अवसर खोसेका युवाहरूको भरमा बल प्रयोगमार्फत् माओवादी पोलिटब्युरोको निर्णयलाई सबैले सदर गर्नु नै राष्ट्रिय सहमति हो भनिरहने हो भने यो मुलुक दुर्भाग्यको चक्रबाट बाहिर निस्कन सक्दैन किनकि निर्माण र सिर्जनाको समय फेरि अर्को अर्थहीन विध्वंश र संघर्षमा खेर जानेछ ।

हाम्रो राजनीतिले तर्क र तथ्यलाई पछ्याउन छोड्दा यो लहड र दम्भबाट ग्रसित हुन पुगेको छ । माओवादीको हठ र यसले जन्माउने दुस्साहस अनि प्रतिक्रियाका नाममा हाबी हुन सक्ने दक्षिणपन्थी पात्र र प्रवृत्ति, परिणाम, हामी आपmनै सपनाको मलामी जानु पर्छ । किनकि यसपटक कोही जित्दैन, यो लडाइँमा जनता हार्छन् । त्यसलै एकपटक फेरि उठौँ र माओवादीले देशव्यापी बनाएको बल प्रयोगको कायरतावादी प्रवृत्ति र हिंसाको निन्दा गरौँ, प्रतिरोध गरौँ, अनि रछ्यानमा मिल्कयाइएका पात्रहरूको सत्ता मोहलाई जोगाउन हाबी हुन सक्ने दक्षिणपन्थी प्रतिक्रियाको पनि विरोध गरौँ, अनि एकै स्वरमा भनौँ जनताको पराजयमा कसैको जय छैन, युद्ध होइन शान्ति चाहन्छौँ हामी ।

अन्त्यमा,

पुष्पकमल दाहाललाई तीन प्रश्न ः गैरमाओवादी नागरिक नै होइनन् भन्ने सैद्धान्तिक आत्मश्लाघाले पीडित तपाईंले गैरमाओवादी कित्तामा त आपmनो कुनै विकल्प देख्न सक्नुहुन्न तर के तपाईंकै दलभित्र अरू कोही तपाईंको विकल्प हुन सक्दैन ? अवसरबाट वञ्चित गराइएका युवाहरूलाई जम्मा गरेर लाठी र खुकुरी चलाउन सिकाउन र यसको प्रयोग गर्न सिकाउन सजिलो हुन्छ तर के यिनलाई लाठी बिसाएर नमस्कार गर्न लगाउन सक्नुहुन्छ ? गाह्रो हुन्छ कमरेड किनकि मुठ्ठी कस्नभन्दा नमस्कार गर्न झन् गाह्रो हुन्छ, सिकाउन पनि गाह्रो हुन्छ । अनि, युवालाई उत्तेजित बनाई प्रयोग गर्न सजिलो हुन्छ तर काठमाडौं ओसारिएका उत्तेजित तर अबोध यस्ता युवालाई तपाइर्ंको छोराले बाँचिरहेको जस्तो सानदार जीवन दिन सक्नुहुन्छ ?

माथि जे लेखिए तापनि फेरि भन्छु संविधानसभाको सदस्यको हैसियतमा, यो सभाले सयममा संविधान लेख्न नसक्नुको दोषी म नै हो, म पनि हो ।



Monday, April 26, 2010

माघ १९ देखि वैशाख ११ सम्म


संविधानसभाको निर्वाचनमा जानुपर्‍यो नि गिरिजाबाबु भन्नुभयो प्रचण्डजीले । कोइरालाले संसद्को पुनस्र्थापनामार्फत संविधानसभासम्म पुग्ने भन्नुभयो, तर प्रचण्ड मानेनन् । माओवादीले संसद् पुनस्र्थापना गर्ने माग अस्वीकार गर्‍यो ।

कृष्णप्रसाद सिटौला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

यसरी उम्केँ
१८ माघ २०६१ मा म गृहजिल्ला झापा गएको थिएँ । १९ गते तत्कालीन राजाले सम्बोधन गर्दै छन् भन्ने अपुष्ट समाचारहरू आइरहेका थिए । राजाले के भन्लान् भन्ने कुतूहलतामा म अरू दिनको तुलनामा केही छिटो उठेँ । बिहानको नित्यकर्मपछि चन्द्रगढीमा रहेको आफ्नै घरमा साथीहरूसँग भेटघाटमा लागेँ । घरमा आएका साथीहरूसँग नै बसेर राजाको सम्बोधन टेलिभिजनमा हेरेँ ।

राजाले जनताको सबै अधिकार खोसेर शासनसत्ता आफ्नो हातमा लिएको घोषणा गरे । त्यसलगत्तै सभापति गिरिजाप्रसाद कोइरालाले मलाई काठमाडौंबाट टेलिफोन गरेर भन्नुभयो, 'जसरी हुन्छ उम्कनू, पक्राउ नपर्नू । बाहिर बसेर जे सकिन्छ त्यही गर्नू ।' सभापतिको निर्देशनलगत्तै म भूमिगत भएँ ।

राजाले सम्बोधन गर्दै छन् भन्ने सूचना थियो, तर के र किन गर्दै छन् भन्ने जानकारी थिएन । टेकओभर गर्लान् जस्तो लागेको थिएन । त्यतिवेला म संगठन विभाग प्रमुख थिएँ । कांग्रेसको ११औँ महाधिवेशन वीरगञ्जमा गर्ने तयारी भएको थियो । सभापतिले नै तयारी के-कस्तो भएको छ बुझेर आऊ भन्नुभएकाले म त्यसतर्फ गएको थिएँ । वीरगञ्जबाट म फेरि झापा जाने तयारीमा थिएँ, तर सभापतिबाट खबर आयो- एकपटक काठमाडौं गएर मात्र झापा जानु भन्ने । म सिमराबाट सीधै काठमाडौं आएँ । राजाले टेकओभर गर्नु दुई दिनअघि उहाँलाई काठमाडौंमा भेट्दा उहाँले स्थिति राम्रो छैन भनेर चिन्ता व्यक्त गर्नुभएको थियो ।

एक दिनअघि मात्र म झापा आएकाले प्रहरीले त्यहाँ मेरो खासै खोजी गरेन । राजाले टेकओभर गरेको एक घन्टामा त भूमिगत भइसकेको थिएँ । जसले गर्दा सुरक्षाकर्मीले मलाई भेट्न सकेनन् । म काठमाडौंमा नै बस्छु भनेर त्यसवेला म बस्दै आएको मैतीदेवीस्थित डेरामा सुरक्षाकर्मी पुगेका रहेछन् । मेरो परिवारले झापा गएको जानकारी दिएपछि मात्र सुरक्षाकर्मी मेरो घर चन्द्रगढी पुगे । काठमाडौंमा भएको भए म उम्कन पाउने थिइनँ । झापामा पनि प्रहरीहरू मलाई खोज्दै गएपछि मेरा भाइ-बुहारीले तपाईं घर नआउनुहोला, सुरक्षाकर्मी खोज्दै आएका छन् भन्ने खबर पठाएका थिए ।

गणतन्त्र जिन्दावाद

राजाको सम्बोधनपछि घरबाट निस्कँदा मैले गणतन्त्रको संकल्प गरिसकेको थिएँ । त्यसभन्दा अघिसम्म म गणतन्त्रको पक्षमा पुगेको थिइनँ । आफ्नो जन्मकालदेखि नै नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको पक्षमा उभिँदै आएको पार्टी हो । जब राजा ज्ञानेन्द्रले १९ माघमा निरंकुश राजतन्त्र लादे र प्रजातन्त्रलाई समग्रमा समाप्त पारे त्यसपछि मलाई लाग्यो, अब गणतन्त्रमा जानुपर्छ । गणतन्त्र जिन्दावादको नारा मनमा घन्काउँदै चन्द्रगढीबाट झापाको दक्षिणी भाग हुँदै भारततर्फ प्रस्थान गरेको हुँ । सुरक्षाकर्मीलाई छक्याउँदै खेत, बारी, खोल्सा हुँदै विभिन्न उपाय लगाएर म भारतको सिलगुढी गएर पत्रकार सम्मेलन गरेँ । केही दिन त्यहीँ बसेँ ।

नेता महन्थ ठाकुर र डा. रामवरण यादवसँग भेट त्यहीँ भएको थियो । एक रात हामी सँगै बस्यौँ र आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्‍यौँ । हामीले निष्कर्ष निकाल्यौँ- नेपालको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्छ । ०४६ सालको आन्दोलनलाई पनि स्मरण गर्‍यौँ । त्यहाँ नै हामीबीच सहमति भयो, म पहिले दिल्ली जाने र महन्थजी र रामवरणजी पछि आउने । सीतामढीमा बस्ने व्यवस्था महन्थजी र रामवरणजीले गर्नुभएको थियो । महन्थजी राजाको सम्बोधनलगत्तै बाहिर निस्कनुभएको रहेछ, रामवरणजी पनि त्यस्तै । उहाँहरूलाई सभापतिको सन्देश पनि सुनाएको थिएँ ।

सीतामढीबाट पटना हुँदै दिल्ली जाने सहमति बन्यो । म पटनाबाट रेल चढेर दिल्ली गएँ । म दिल्ली पुग्दा डा. शेखर कोइराला, सुजाता, प्रदीप गिरी, हृदयेश त्रिपाठी त्यहाँ पुगिसकेका रहेछन् । राजेन्द्र महतो छोरा बिरामी भएर पहिलेदेखि नै त्यहाँ हुनुहुँदोरहेछ । पछि एमालेका साथीहरू पनि दिल्ली पुगे र हामीले त्यहाँका राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्‍यौँ र सबैलाई जानकारी गरायौँ । हामी सबैले नेपालमा राजाले गलत काम गरेका छन् भन्ने सन्देश प्रवाह गर्‍यौँ । आन्दोलन नेपाली जनताले नै गर्ने भए पनि तपाईंहरूले नैतिक समर्थन गरिदिनुपर्‍यो भन्यौँ सबै मिलेर ।

बिरामी परेँ

७ फागुनमा झापा कांग्रेसका सभापति सुधीर सिवाकोटीसहितका केही नेतालाई सेनाले गिरफ्तार गरेर लगेछ । कृष्ण सिटौला कहाँ छ भनेर उनीहरूलाई बंकरमा राखेर मरणासन्न हुनेगरी पिटेछन् । मरे भने पुरिदिनुसमेत भनेछन् । त्यो घटना सुनेपछि मलाई ठूलो चिन्ता र व्यग्रता भयो । म झापा आएर कांग्रेस र अन्य पार्टीका नेताहरूलाई भेटँे, गुनासो गरेँ । हामीले विज्ञप्ति जारी गर्दै काँकडभिट्टामा आन्दोलन गर्‍यौँ । काँकडभिट्टामा सभा भएका दिन तत्कालीन युवराज पारस चन्द्रगढीमा खेलकुदको उद्घाटन गर्न पुगेका थिए । त्यसको आसपासको ठाउँमा ठूलो विरोध भएको थियो । केही दिनको काँकडभिट्टा बसाइपछि म फेरि दिल्ली गएँ ।

दिल्ली पुगेपछि म बिरामी परे । मेरो स्वर पूरै बसेको थियो । एम्स अस्पतालमा भर्ना भएँ । डाक्टरले अप्रेसन गर्नुपर्ने सल्लाह दिए । डा. शेखरले मलाई सहयोग गर्नुभयो । तर, मेरो सुगर अत्यन्तै बढिरहेकाले तत्काल अप्रेसन नहुने भयो । सुगर कन्ट्रोल गर्न औषधि सेवन गर्न थालेँ । अप्रेसन गरेँ । एक महिनाभन्दा बढी म पूरै भोकल रेस्टमा बसेँ । त्यो थाहा पाएर मेरी श्रीमती काठमाडौंबाट दिल्ली पुगेकी थिइन् । एक महिना त म हातले लेखेर नै संवाद गरेँ ।

त्यहाँ बस्दा एकपटक गिरिजाबाबुले अन्तर्राष्ट्रिय समर्थन जुटाउन दिल्ली आउनु जरुरी छ भन्ने लाग्यो । मैले टेलिफोनमा त पटक-पटक भनेको थिएँ, तर उहाँ आफ्नै तालको मान्छे । मैले मेरी श्रीमतीमार्फत एउटा रिक्वेस्ट लेटर पठाएको थिएँ । माओवादीसहित सबै राजनीतिक दल र भारतलगायत विश्वका देशहरूको समर्थन जुटाउनुपर्छ, त्यसका लागि उहाँ दिल्ली आउनुपर्छ भन्ने मलाई लागेको थियो । मैले त्यही लेखेर पठाएको थिएँ ।

कोइराला-प्रचण्ड भेट

गिरिजाबाबु बिरामी परिरहने मान्छे । पछि उपचार गराउने क्रममा नै उहाँ दिल्ली आउनुभयो । ०६२ सालको असारमा हो जस्तो लाग्छ । त्यसक्रममा उहाँले भारतका सबै नेतासँग भेट गर्नुभयो । त्यहीवेला मैले थाहा पाएँ, गिरिजाबाबुलाई भारतले त्यत्तिको सम्मान गर्दोरहेछ भन्ने । त्यही क्रममा गिरिजाबाबुले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पहिलोपटक भेट गर्नुभएको हो नोयगाढमा । आफ्ना सुरक्षाकर्मीलाई समेत छल्दै हामीले उहाँहरूसँग भेट गरेका हौँ । त्यहाँ बाबुराम भट्टराई, कृष्णबहादुर महरा, रामबहादुर थापालगायतका नेता थिए । गिरिजाबाबुसँग डा. शेखर र म । गिरिजाबाबु सुत्ने समयमा दिउँसो भेटघाट भएको हो । प्रचण्डको धेरै लामो व्याख्यापछि गिरिजाबाबुले छोटोमा तपाईंहरू शान्तिपूर्ण राजनीतिमा आउने हो कि होइन ? शान्तिपूर्ण राजनीति र प्रजातन्त्रमा आउने हो भने तपाईं-हामी मिलेर शान्तिपूर्ण आन्दोलन गरौँ, राजा तह लागिहाल्छन्, हिंसा जारी राखेसम्म तपाईंहरूसँग हाम्रो सहकार्य हुन सक्दैन । प्रजातन्त्र र शान्तिपूर्ण आन्दोलनमा आउने हो भने समझदारी बन्न सक्छ भन्नुभएको थियो ।

संविधानसभाको निर्वाचनमा जानुपर्‍यो नि गिरिजाबाबु भन्नुभयो प्रचण्डजीले । कोइरालाले संसद्को पुनस्र्थापनामार्फत संविधानसभासम्म पुग्ने भन्नुभयो, तर प्रचण्ड मानेनन् । माओवादीले संसद् पुनस्र्थापना गर्ने माग अस्वीकार गरे । राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत अन्तरिम सरकार बनाएर संविधानसभाको निर्वाचनमा जाऔँ भन्ने माओवादीको प्रस्ताव थियो । तर, आन्दोलन मिलेर गरौँ भन्ने थियो । गिरिजाबाबुले त्यसरी जानुहुन्न, त्यो वैधानिक प्रक्रिया होइन । आन्दोलनबाट संसद्को पुनस्र्थापना गरौँ र संसद्को निर्णयले संविधानसभासम्म जाऔँ, त्यसमा तपाईंहरू आउनैपर्छ भन्नेमा जोड दिनुभयो । त्यसपछि हामी आयौँ । राति बाबुरामजीसँग टेलिफोनमा कुरा भयो । हामी दुवैले भन्यौँ, 'निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र बहाली गर्ने मोटामोटी सहमति त भयो नि ।'

गिरिजाबाबुसँगै शेखरसहित हामी काठमाडौं आयाँै । बीचमा पटक-पटक कुराकानी भयो । कात्तिकमा गिरिजाबाबु दिल्ली जानुभयो । म पनि झापाबाट त्यहाँ पुगँे । कात्तिकको अन्तिम साताजस्तो लाग्छ- माओवादीसँग एउटा सहमति बन्यो, ७ मंसिरमा सात दलले काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने र माओवादीले जहाँ हुन्छ त्यहीँबाट सार्वजनिक गर्ने भन्ने । त्यो समझदारी गिरिजाबाबुसँगै दिल्लीबाट मैले बोकेर आएको हुँ । त्यसको कसैलाई जानकारी गराएका थिएनौँ । जानकारी गराउने अवस्था पनि थिएन । गिरिजाबाबुको आदेशअनुसार दिल्लीमा रहँदा होटलको एउटै कोठामा शेखरजी र म सुतेका थियौँ । मैले उहाँलाई पनि त्यो जानकारी दिइनँ । शेखरजीले मलाई पनि विश्वास नगर्ने सिटौलाजी भन्नुभएको थियो । मैले उहाँलाई भनेँ, 'तपाईंलाई विश्वास नगरेको होइन, गिरिजाबाबुको आदेश मात्र पालना गरेको हुँ ।' ७ मंसिरमा गिरिजाबाबुको निवासमा नै बसेर सात दलका नेताहरूले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । गिरिजाबाबुले पहिले हस्ताक्षर गर्नुभयो तर गोपालमान श्रेष्ठले पार्टीको निर्णयविना हस्ताक्षर गर्न मान्नुभएन ।

उहाँलाई साथमा लिएर माधवकुमार नेपाल र म हिरासतमा रहेका तत्कालीन प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गयौँ, तर त्यहाँ खास कुरा हुन सकेन । त्यहाँबाट र्फकंदा गिरिजाबाबु माथि चढिसक्नुभएको रहेछ । मैले भेटको बारेमा जानकारी गराएँ । उहाँले एकपटक सम्झाउनू, मान्नुहुन्छ होला, नमाने छोड्नू भन्नुभयो । नारायणमान बिजुक्छे नेपालगञ्ज भएकाले उहाँलाई टेलिफोनमा पढेर सुनाउनू भन्नुभयो, मैले त्यसै गरे । पछि गोपालमानजी पनि हस्ताक्षर गर्न तयार हुनुभयो । ८ मंसिरमा कांग्रेस केन्द्रीय समितिको बैठकमा सुशील दाले पनि यति ठूलो घटना मलाई नभनेको भनेर गुनासो गर्नुभएको थियो । गिरिजाप्रसादको साहसका कारण त्यो समझदारी बनेको हो । शान्ति, लोकतन्त्र, समृद्धि र स्वतन्त्र सार्वभौम नेपाललाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्नुहुन्थ्यो । यी चार बुँदा र संसद् पुनस्र्थापना लेखिएको छ कि छैन भनेर लगातार सोधिरहनुहुन्थ्यो ।

मलाई सवारीमन्त्री भनियो

स्थानीय निकायको निर्वाचन बहिष्कारपछि माओवादी र अन्य दल फेरि दिल्ली गएर २४ चैतको आन्दोलन तय गरेका हौँ । त्यसमा कांग्रेसको तर्फबाट म र महन्थ ठाकुर, एमालेबाट वामदेव गौतम र झलनाथ खनाल र माओवादीबाट प्रचण्ड र बाबुराम भट्टराई हुनुहुन्थ्यो । चारदिने आमहडतालको कार्यक्रम दिल्लीमा तय गरेका हौँ । म भूमिगत भएर नै दिल्लीबाट काठमाडौं आएर आन्दोलनभर भूमिगत नै रहेँ । म नियमित माओवादीसँग टेलिफोन सम्पर्कमा नै थिएँ । आन्दोलनलाई निरन्तरता दिने-नदिने विषयमा विवाद हुदा पनि हामीले फोनमा नै निरन्तरता दिने सहमति गरेका हौँ ।

११ वैशाखमा गिरिजाबाबुले बोलाएर राति मात्र पुगेको हु । उहाँले मलाई होसियारका साथ आउनू भन्नुभएको थियो । त्यसक्रममा मेरा आफन्तको घरमा सेना र प्रहरीले धेरैपटक खानतलासी गरेका थिए । म त्यहाँ पुग्दा रामचन्द्र पौडेल, महेश आचार्यसहितका केही नेता हुनुहुन्थ्यो । पछि माधव नेपाल पनि आउनुभयो, गिरिजाबाबुलाई भेटेर उहाँ आफ्नै पार्टी अफिसमा जानुभयो । राजाले सम्बोधन गर्ने भनेपछि हामीले एउटा ड्राफ्ट बनाएका थियौँ, केही समयपछि पशुपतिभक्त महर्जन आए । हामीले तयार पारेको ड्रापटलाई तलमाथि नगरी आजै घोषणा गर्न भन्यौँ । त्यहीअनुसार राजाले सम्बोधन गरेका हुन् । त्योचाहिँ माओवादीलाई जानकारी थिएन । तर, गिरिजाबाबुले संसद्को पुनस्र्थापना हुन्छ, त्यसबाट माओवादीलाई वार्तामा बोलाएर संसद्मार्फत संविधानसभासम्म पुग्ने भन्ने प्रस्ट विचार राख्नुभएको थयो ।

माओवादीलाई वार्तामा बोलायौँ । उहाँहरू आउनुभयो । तर, गिरिजाबाबुले महरासँग वार्ता गरेर कहिले पार लगाउने, प्रचण्डलाई ल्याउनु न भन्नुभयो । शेखरजी र म सिक्लेसमा गएर प्रचण्डलाई भेटेर वार्तामा आउन आग्रह गर्‍यौँ । पहिले त अस्वीकर गर्नुभएको थियो तर पछि खबर पठाउनुभयो र म आफैँ गएर पोखराबाट प्रचण्ड, सीता र डा. बाबुराम भट्टराईलाई बालुवाटार ल्याएको हुँ । माओवादी नेताहरूले पहिले पोखरामा वार्ता गर्न प्रस्ताव गरेका थिए, तर हामीले प्रधानमन्त्री जहाँ बस्नुहुन्छ त्यहाँ नै वार्ता गर्ने भनेपछि काठमाडौं आउन तयार भएका हुन् । मलाई माओवादीका सवारीमन्त्रीसमेत भने त्यतिवेला । तर, मलाई माओवादी नेताका सवारी होइन देशको सवारी चलाइराखेको छु भन्ने लागेको थियो । म आफ्नो काममा निरन्तर लागे ।

झुट बोल्नुपर्‍यो

१२ बुँदे समझदारी हुनुअघि पनि माओवादीसँग धेरैपटक वार्ता भएको हो । हरिद्वारमा पनि वार्ता भएको थियो । नयाँदिल्लीमा गिरिजाबाबुसमेतको उपस्थितिमा माओवादीसँग समझदारी बनेपछि होटलबाट निस्कने वेलामा 'यो माओवादी र राजनीतिक दलबीच परस्परको विश्वासको डकुमेन्ट हो । यसमा लेखिएको कुरा महत्त्वपूर्ण होइन, तर सात दल र माओवादीका बीच विश्वास निर्माण गर्ने आधार हो । यसमा लेखिएका शब्दहरू बिगि्रएका छन् । कमा र पूर्णविराम नमिलेको हुन सक्छ । तर, यसलाई कतै परिवर्तन नगरौँ है' भनेको थिएँ मैले । हस्ताक्षर गर्ने वेलामा मौलिक हक भन्ने एउटा शब्द थप्नुपर्ने भयो । त्यो पनि माओवादीलाई खबर पुर्‍याएर दुवै ठाउँमा थपेर हस्ताक्षर गरेका हौँ । त्यो डकुमेन्ट मैले हस्ताक्षर गर्नुअघि कसैलाई दिइनँ ।

दिल्लीमा बिबिसीले गिरिजाबाबु र प्रचण्डबीचको भेटका विषयमा सोधेको थियो । उहाँकै आग्रहमा मैले 'भेट भएको छैन, तर गिरिजाबाबुले टेलिफोनमार्फत प्रचण्डलाई आग्रह गर्नुभएको छ, शान्तिपूर्ण राजनीति र लोकतन्त्रमा आउन भन्नुभएको छ' भनँे । गिरिजाबाबुले मलाई भन्नुभयो, 'तपाईंले ट्याकफुल जवाफ दिनुभयो ।' मैले त्यस दिन सञ्चारमाध्यमलाई पनि शान्ति र लोकतन्त्रका लागि झुट बोलेको छु ।

८ वैशाख २०६३ मा राजाले सम्बोधन गरेका थिए । गिरिजाबाबुले राजाको सम्बोधन कस्तो लाग्यो भनेर राति दस बजे फोन गरेर सोध्नुभयो । मैले अघि नै बहिष्कार गरिसकेँ भनेँ । राजाले पूर्ण रूपमा सरेन्डर गर्नुपर्छ भनेँ । सायद कसैले गिरिजाबाबुलाई त्यसलाई मान्नुपर्छ भनेर उकासेको थियो कि भन्ने लाग्छ ।

११ वैशाखका दिन जनता जागेर राजा हारेको दिन सायद कुनै नेपालीले बिर्सिन सक्दैनन् । १५ वैशाखमा पुनस्र्थापित संसद्को पहिलो बैठकको दिन राजदण्ड हटाउने विषयमा धेरै विवाद भएको हो । केही साथीहरूले राजतन्त्र हटाए ठूलो रक्तपात हुन्छ, भने । तर मैले हाम्रा लागि त्योभन्दा ठूलो अवसर कुनै हुँदैन, राजदण्ड र राजको कुर्सी संसद्बाट हटाउनैपर्छ भनेको हुँ । माओवादी र राज्यबीच भएको बृहत् शान्तिसम्झौतामा हस्ताक्षर गर्नुअघि त्यसलाई म आफैँले वाचन गर्ने अवसर पाएँ ।

संविधनसभाको निर्वाचनमा नेपाली कांग्रेस पराजित भयो । तर, कांग्रेस नेतृत्वका सरकारले मुलुकमा गणतन्त्र स्थापनाको औपचारिक प्रस्ताव संविधानसभामा पेस गरेर प्रस्ताव पारित भयो । त्यो मेरा लागि सबैभन्दा सुखद क्षण हो । त्यो पनि प्रधानमन्त्रीको तर्फबाट म आफैँले संविधानसभाको बैठकमा पेस गर्न पाएँ ।

प्रजातन्त्रको पक्षमा वकालत गर्दै राजाको शासनको विरोधमा उत्रिएका झापाका मेरा साथीहरूलाई सेनाले गिरफ्तार गरेर मरणासन्न बनाएर कुटेको घटना मेरो मानसपटल अहिले पनि ताजा नै छ ।
साभार