संविधानसभाको निर्वाचनमा जानुपर्यो नि गिरिजाबाबु भन्नुभयो प्रचण्डजीले । कोइरालाले संसद्को पुनस्र्थापनामार्फत संविधानसभासम्म पुग्ने भन्नुभयो, तर प्रचण्ड मानेनन् । माओवादीले संसद् पुनस्र्थापना गर्ने माग अस्वीकार गर्यो ।
कृष्णप्रसाद सिटौला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
यसरी उम्केँ
१८ माघ २०६१ मा म गृहजिल्ला झापा गएको थिएँ । १९ गते तत्कालीन राजाले सम्बोधन गर्दै छन् भन्ने अपुष्ट समाचारहरू आइरहेका थिए । राजाले के भन्लान् भन्ने कुतूहलतामा म अरू दिनको तुलनामा केही छिटो उठेँ । बिहानको नित्यकर्मपछि चन्द्रगढीमा रहेको आफ्नै घरमा साथीहरूसँग भेटघाटमा लागेँ । घरमा आएका साथीहरूसँग नै बसेर राजाको सम्बोधन टेलिभिजनमा हेरेँ ।
राजाले जनताको सबै अधिकार खोसेर शासनसत्ता आफ्नो हातमा लिएको घोषणा गरे । त्यसलगत्तै सभापति गिरिजाप्रसाद कोइरालाले मलाई काठमाडौंबाट टेलिफोन गरेर भन्नुभयो, 'जसरी हुन्छ उम्कनू, पक्राउ नपर्नू । बाहिर बसेर जे सकिन्छ त्यही गर्नू ।' सभापतिको निर्देशनलगत्तै म भूमिगत भएँ ।
राजाले सम्बोधन गर्दै छन् भन्ने सूचना थियो, तर के र किन गर्दै छन् भन्ने जानकारी थिएन । टेकओभर गर्लान् जस्तो लागेको थिएन । त्यतिवेला म संगठन विभाग प्रमुख थिएँ । कांग्रेसको ११औँ महाधिवेशन वीरगञ्जमा गर्ने तयारी भएको थियो । सभापतिले नै तयारी के-कस्तो भएको छ बुझेर आऊ भन्नुभएकाले म त्यसतर्फ गएको थिएँ । वीरगञ्जबाट म फेरि झापा जाने तयारीमा थिएँ, तर सभापतिबाट खबर आयो- एकपटक काठमाडौं गएर मात्र झापा जानु भन्ने । म सिमराबाट सीधै काठमाडौं आएँ । राजाले टेकओभर गर्नु दुई दिनअघि उहाँलाई काठमाडौंमा भेट्दा उहाँले स्थिति राम्रो छैन भनेर चिन्ता व्यक्त गर्नुभएको थियो ।
एक दिनअघि मात्र म झापा आएकाले प्रहरीले त्यहाँ मेरो खासै खोजी गरेन । राजाले टेकओभर गरेको एक घन्टामा त भूमिगत भइसकेको थिएँ । जसले गर्दा सुरक्षाकर्मीले मलाई भेट्न सकेनन् । म काठमाडौंमा नै बस्छु भनेर त्यसवेला म बस्दै आएको मैतीदेवीस्थित डेरामा सुरक्षाकर्मी पुगेका रहेछन् । मेरो परिवारले झापा गएको जानकारी दिएपछि मात्र सुरक्षाकर्मी मेरो घर चन्द्रगढी पुगे । काठमाडौंमा भएको भए म उम्कन पाउने थिइनँ । झापामा पनि प्रहरीहरू मलाई खोज्दै गएपछि मेरा भाइ-बुहारीले तपाईं घर नआउनुहोला, सुरक्षाकर्मी खोज्दै आएका छन् भन्ने खबर पठाएका थिए ।
गणतन्त्र जिन्दावाद
राजाको सम्बोधनपछि घरबाट निस्कँदा मैले गणतन्त्रको संकल्प गरिसकेको थिएँ । त्यसभन्दा अघिसम्म म गणतन्त्रको पक्षमा पुगेको थिइनँ । आफ्नो जन्मकालदेखि नै नेपाली कांग्रेस संवैधानिक राजतन्त्रको पक्षमा उभिँदै आएको पार्टी हो । जब राजा ज्ञानेन्द्रले १९ माघमा निरंकुश राजतन्त्र लादे र प्रजातन्त्रलाई समग्रमा समाप्त पारे त्यसपछि मलाई लाग्यो, अब गणतन्त्रमा जानुपर्छ । गणतन्त्र जिन्दावादको नारा मनमा घन्काउँदै चन्द्रगढीबाट झापाको दक्षिणी भाग हुँदै भारततर्फ प्रस्थान गरेको हुँ । सुरक्षाकर्मीलाई छक्याउँदै खेत, बारी, खोल्सा हुँदै विभिन्न उपाय लगाएर म भारतको सिलगुढी गएर पत्रकार सम्मेलन गरेँ । केही दिन त्यहीँ बसेँ ।
नेता महन्थ ठाकुर र डा. रामवरण यादवसँग भेट त्यहीँ भएको थियो । एक रात हामी सँगै बस्यौँ र आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्यौँ । हामीले निष्कर्ष निकाल्यौँ- नेपालको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्छ । ०४६ सालको आन्दोलनलाई पनि स्मरण गर्यौँ । त्यहाँ नै हामीबीच सहमति भयो, म पहिले दिल्ली जाने र महन्थजी र रामवरणजी पछि आउने । सीतामढीमा बस्ने व्यवस्था महन्थजी र रामवरणजीले गर्नुभएको थियो । महन्थजी राजाको सम्बोधनलगत्तै बाहिर निस्कनुभएको रहेछ, रामवरणजी पनि त्यस्तै । उहाँहरूलाई सभापतिको सन्देश पनि सुनाएको थिएँ ।
सीतामढीबाट पटना हुँदै दिल्ली जाने सहमति बन्यो । म पटनाबाट रेल चढेर दिल्ली गएँ । म दिल्ली पुग्दा डा. शेखर कोइराला, सुजाता, प्रदीप गिरी, हृदयेश त्रिपाठी त्यहाँ पुगिसकेका रहेछन् । राजेन्द्र महतो छोरा बिरामी भएर पहिलेदेखि नै त्यहाँ हुनुहुँदोरहेछ । पछि एमालेका साथीहरू पनि दिल्ली पुगे र हामीले त्यहाँका राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्यौँ र सबैलाई जानकारी गरायौँ । हामी सबैले नेपालमा राजाले गलत काम गरेका छन् भन्ने सन्देश प्रवाह गर्यौँ । आन्दोलन नेपाली जनताले नै गर्ने भए पनि तपाईंहरूले नैतिक समर्थन गरिदिनुपर्यो भन्यौँ सबै मिलेर ।
बिरामी परेँ
७ फागुनमा झापा कांग्रेसका सभापति सुधीर सिवाकोटीसहितका केही नेतालाई सेनाले गिरफ्तार गरेर लगेछ । कृष्ण सिटौला कहाँ छ भनेर उनीहरूलाई बंकरमा राखेर मरणासन्न हुनेगरी पिटेछन् । मरे भने पुरिदिनुसमेत भनेछन् । त्यो घटना सुनेपछि मलाई ठूलो चिन्ता र व्यग्रता भयो । म झापा आएर कांग्रेस र अन्य पार्टीका नेताहरूलाई भेटँे, गुनासो गरेँ । हामीले विज्ञप्ति जारी गर्दै काँकडभिट्टामा आन्दोलन गर्यौँ । काँकडभिट्टामा सभा भएका दिन तत्कालीन युवराज पारस चन्द्रगढीमा खेलकुदको उद्घाटन गर्न पुगेका थिए । त्यसको आसपासको ठाउँमा ठूलो विरोध भएको थियो । केही दिनको काँकडभिट्टा बसाइपछि म फेरि दिल्ली गएँ ।
दिल्ली पुगेपछि म बिरामी परे । मेरो स्वर पूरै बसेको थियो । एम्स अस्पतालमा भर्ना भएँ । डाक्टरले अप्रेसन गर्नुपर्ने सल्लाह दिए । डा. शेखरले मलाई सहयोग गर्नुभयो । तर, मेरो सुगर अत्यन्तै बढिरहेकाले तत्काल अप्रेसन नहुने भयो । सुगर कन्ट्रोल गर्न औषधि सेवन गर्न थालेँ । अप्रेसन गरेँ । एक महिनाभन्दा बढी म पूरै भोकल रेस्टमा बसेँ । त्यो थाहा पाएर मेरी श्रीमती काठमाडौंबाट दिल्ली पुगेकी थिइन् । एक महिना त म हातले लेखेर नै संवाद गरेँ ।
त्यहाँ बस्दा एकपटक गिरिजाबाबुले अन्तर्राष्ट्रिय समर्थन जुटाउन दिल्ली आउनु जरुरी छ भन्ने लाग्यो । मैले टेलिफोनमा त पटक-पटक भनेको थिएँ, तर उहाँ आफ्नै तालको मान्छे । मैले मेरी श्रीमतीमार्फत एउटा रिक्वेस्ट लेटर पठाएको थिएँ । माओवादीसहित सबै राजनीतिक दल र भारतलगायत विश्वका देशहरूको समर्थन जुटाउनुपर्छ, त्यसका लागि उहाँ दिल्ली आउनुपर्छ भन्ने मलाई लागेको थियो । मैले त्यही लेखेर पठाएको थिएँ ।
कोइराला-प्रचण्ड भेट
गिरिजाबाबु बिरामी परिरहने मान्छे । पछि उपचार गराउने क्रममा नै उहाँ दिल्ली आउनुभयो । ०६२ सालको असारमा हो जस्तो लाग्छ । त्यसक्रममा उहाँले भारतका सबै नेतासँग भेट गर्नुभयो । त्यहीवेला मैले थाहा पाएँ, गिरिजाबाबुलाई भारतले त्यत्तिको सम्मान गर्दोरहेछ भन्ने । त्यही क्रममा गिरिजाबाबुले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पहिलोपटक भेट गर्नुभएको हो नोयगाढमा । आफ्ना सुरक्षाकर्मीलाई समेत छल्दै हामीले उहाँहरूसँग भेट गरेका हौँ । त्यहाँ बाबुराम भट्टराई, कृष्णबहादुर महरा, रामबहादुर थापालगायतका नेता थिए । गिरिजाबाबुसँग डा. शेखर र म । गिरिजाबाबु सुत्ने समयमा दिउँसो भेटघाट भएको हो । प्रचण्डको धेरै लामो व्याख्यापछि गिरिजाबाबुले छोटोमा तपाईंहरू शान्तिपूर्ण राजनीतिमा आउने हो कि होइन ? शान्तिपूर्ण राजनीति र प्रजातन्त्रमा आउने हो भने तपाईं-हामी मिलेर शान्तिपूर्ण आन्दोलन गरौँ, राजा तह लागिहाल्छन्, हिंसा जारी राखेसम्म तपाईंहरूसँग हाम्रो सहकार्य हुन सक्दैन । प्रजातन्त्र र शान्तिपूर्ण आन्दोलनमा आउने हो भने समझदारी बन्न सक्छ भन्नुभएको थियो ।
संविधानसभाको निर्वाचनमा जानुपर्यो नि गिरिजाबाबु भन्नुभयो प्रचण्डजीले । कोइरालाले संसद्को पुनस्र्थापनामार्फत संविधानसभासम्म पुग्ने भन्नुभयो, तर प्रचण्ड मानेनन् । माओवादीले संसद् पुनस्र्थापना गर्ने माग अस्वीकार गरे । राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत अन्तरिम सरकार बनाएर संविधानसभाको निर्वाचनमा जाऔँ भन्ने माओवादीको प्रस्ताव थियो । तर, आन्दोलन मिलेर गरौँ भन्ने थियो । गिरिजाबाबुले त्यसरी जानुहुन्न, त्यो वैधानिक प्रक्रिया होइन । आन्दोलनबाट संसद्को पुनस्र्थापना गरौँ र संसद्को निर्णयले संविधानसभासम्म जाऔँ, त्यसमा तपाईंहरू आउनैपर्छ भन्नेमा जोड दिनुभयो । त्यसपछि हामी आयौँ । राति बाबुरामजीसँग टेलिफोनमा कुरा भयो । हामी दुवैले भन्यौँ, 'निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र बहाली गर्ने मोटामोटी सहमति त भयो नि ।'
गिरिजाबाबुसँगै शेखरसहित हामी काठमाडौं आयाँै । बीचमा पटक-पटक कुराकानी भयो । कात्तिकमा गिरिजाबाबु दिल्ली जानुभयो । म पनि झापाबाट त्यहाँ पुगँे । कात्तिकको अन्तिम साताजस्तो लाग्छ- माओवादीसँग एउटा सहमति बन्यो, ७ मंसिरमा सात दलले काठमाडौंमा समझदारीपत्रमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने र माओवादीले जहाँ हुन्छ त्यहीँबाट सार्वजनिक गर्ने भन्ने । त्यो समझदारी गिरिजाबाबुसँगै दिल्लीबाट मैले बोकेर आएको हुँ । त्यसको कसैलाई जानकारी गराएका थिएनौँ । जानकारी गराउने अवस्था पनि थिएन । गिरिजाबाबुको आदेशअनुसार दिल्लीमा रहँदा होटलको एउटै कोठामा शेखरजी र म सुतेका थियौँ । मैले उहाँलाई पनि त्यो जानकारी दिइनँ । शेखरजीले मलाई पनि विश्वास नगर्ने सिटौलाजी भन्नुभएको थियो । मैले उहाँलाई भनेँ, 'तपाईंलाई विश्वास नगरेको होइन, गिरिजाबाबुको आदेश मात्र पालना गरेको हुँ ।' ७ मंसिरमा गिरिजाबाबुको निवासमा नै बसेर सात दलका नेताहरूले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । गिरिजाबाबुले पहिले हस्ताक्षर गर्नुभयो तर गोपालमान श्रेष्ठले पार्टीको निर्णयविना हस्ताक्षर गर्न मान्नुभएन ।
उहाँलाई साथमा लिएर माधवकुमार नेपाल र म हिरासतमा रहेका तत्कालीन प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गयौँ, तर त्यहाँ खास कुरा हुन सकेन । त्यहाँबाट र्फकंदा गिरिजाबाबु माथि चढिसक्नुभएको रहेछ । मैले भेटको बारेमा जानकारी गराएँ । उहाँले एकपटक सम्झाउनू, मान्नुहुन्छ होला, नमाने छोड्नू भन्नुभयो । नारायणमान बिजुक्छे नेपालगञ्ज भएकाले उहाँलाई टेलिफोनमा पढेर सुनाउनू भन्नुभयो, मैले त्यसै गरे । पछि गोपालमानजी पनि हस्ताक्षर गर्न तयार हुनुभयो । ८ मंसिरमा कांग्रेस केन्द्रीय समितिको बैठकमा सुशील दाले पनि यति ठूलो घटना मलाई नभनेको भनेर गुनासो गर्नुभएको थियो । गिरिजाप्रसादको साहसका कारण त्यो समझदारी बनेको हो । शान्ति, लोकतन्त्र, समृद्धि र स्वतन्त्र सार्वभौम नेपाललाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ भन्नुहुन्थ्यो । यी चार बुँदा र संसद् पुनस्र्थापना लेखिएको छ कि छैन भनेर लगातार सोधिरहनुहुन्थ्यो ।
मलाई सवारीमन्त्री भनियो
स्थानीय निकायको निर्वाचन बहिष्कारपछि माओवादी र अन्य दल फेरि दिल्ली गएर २४ चैतको आन्दोलन तय गरेका हौँ । त्यसमा कांग्रेसको तर्फबाट म र महन्थ ठाकुर, एमालेबाट वामदेव गौतम र झलनाथ खनाल र माओवादीबाट प्रचण्ड र बाबुराम भट्टराई हुनुहुन्थ्यो । चारदिने आमहडतालको कार्यक्रम दिल्लीमा तय गरेका हौँ । म भूमिगत भएर नै दिल्लीबाट काठमाडौं आएर आन्दोलनभर भूमिगत नै रहेँ । म नियमित माओवादीसँग टेलिफोन सम्पर्कमा नै थिएँ । आन्दोलनलाई निरन्तरता दिने-नदिने विषयमा विवाद हुदा पनि हामीले फोनमा नै निरन्तरता दिने सहमति गरेका हौँ ।
११ वैशाखमा गिरिजाबाबुले बोलाएर राति मात्र पुगेको हु । उहाँले मलाई होसियारका साथ आउनू भन्नुभएको थियो । त्यसक्रममा मेरा आफन्तको घरमा सेना र प्रहरीले धेरैपटक खानतलासी गरेका थिए । म त्यहाँ पुग्दा रामचन्द्र पौडेल, महेश आचार्यसहितका केही नेता हुनुहुन्थ्यो । पछि माधव नेपाल पनि आउनुभयो, गिरिजाबाबुलाई भेटेर उहाँ आफ्नै पार्टी अफिसमा जानुभयो । राजाले सम्बोधन गर्ने भनेपछि हामीले एउटा ड्राफ्ट बनाएका थियौँ, केही समयपछि पशुपतिभक्त महर्जन आए । हामीले तयार पारेको ड्रापटलाई तलमाथि नगरी आजै घोषणा गर्न भन्यौँ । त्यहीअनुसार राजाले सम्बोधन गरेका हुन् । त्योचाहिँ माओवादीलाई जानकारी थिएन । तर, गिरिजाबाबुले संसद्को पुनस्र्थापना हुन्छ, त्यसबाट माओवादीलाई वार्तामा बोलाएर संसद्मार्फत संविधानसभासम्म पुग्ने भन्ने प्रस्ट विचार राख्नुभएको थयो ।
माओवादीलाई वार्तामा बोलायौँ । उहाँहरू आउनुभयो । तर, गिरिजाबाबुले महरासँग वार्ता गरेर कहिले पार लगाउने, प्रचण्डलाई ल्याउनु न भन्नुभयो । शेखरजी र म सिक्लेसमा गएर प्रचण्डलाई भेटेर वार्तामा आउन आग्रह गर्यौँ । पहिले त अस्वीकर गर्नुभएको थियो तर पछि खबर पठाउनुभयो र म आफैँ गएर पोखराबाट प्रचण्ड, सीता र डा. बाबुराम भट्टराईलाई बालुवाटार ल्याएको हुँ । माओवादी नेताहरूले पहिले पोखरामा वार्ता गर्न प्रस्ताव गरेका थिए, तर हामीले प्रधानमन्त्री जहाँ बस्नुहुन्छ त्यहाँ नै वार्ता गर्ने भनेपछि काठमाडौं आउन तयार भएका हुन् । मलाई माओवादीका सवारीमन्त्रीसमेत भने त्यतिवेला । तर, मलाई माओवादी नेताका सवारी होइन देशको सवारी चलाइराखेको छु भन्ने लागेको थियो । म आफ्नो काममा निरन्तर लागे ।
झुट बोल्नुपर्यो
१२ बुँदे समझदारी हुनुअघि पनि माओवादीसँग धेरैपटक वार्ता भएको हो । हरिद्वारमा पनि वार्ता भएको थियो । नयाँदिल्लीमा गिरिजाबाबुसमेतको उपस्थितिमा माओवादीसँग समझदारी बनेपछि होटलबाट निस्कने वेलामा 'यो माओवादी र राजनीतिक दलबीच परस्परको विश्वासको डकुमेन्ट हो । यसमा लेखिएको कुरा महत्त्वपूर्ण होइन, तर सात दल र माओवादीका बीच विश्वास निर्माण गर्ने आधार हो । यसमा लेखिएका शब्दहरू बिगि्रएका छन् । कमा र पूर्णविराम नमिलेको हुन सक्छ । तर, यसलाई कतै परिवर्तन नगरौँ है' भनेको थिएँ मैले । हस्ताक्षर गर्ने वेलामा मौलिक हक भन्ने एउटा शब्द थप्नुपर्ने भयो । त्यो पनि माओवादीलाई खबर पुर्याएर दुवै ठाउँमा थपेर हस्ताक्षर गरेका हौँ । त्यो डकुमेन्ट मैले हस्ताक्षर गर्नुअघि कसैलाई दिइनँ ।
दिल्लीमा बिबिसीले गिरिजाबाबु र प्रचण्डबीचको भेटका विषयमा सोधेको थियो । उहाँकै आग्रहमा मैले 'भेट भएको छैन, तर गिरिजाबाबुले टेलिफोनमार्फत प्रचण्डलाई आग्रह गर्नुभएको छ, शान्तिपूर्ण राजनीति र लोकतन्त्रमा आउन भन्नुभएको छ' भनँे । गिरिजाबाबुले मलाई भन्नुभयो, 'तपाईंले ट्याकफुल जवाफ दिनुभयो ।' मैले त्यस दिन सञ्चारमाध्यमलाई पनि शान्ति र लोकतन्त्रका लागि झुट बोलेको छु ।
८ वैशाख २०६३ मा राजाले सम्बोधन गरेका थिए । गिरिजाबाबुले राजाको सम्बोधन कस्तो लाग्यो भनेर राति दस बजे फोन गरेर सोध्नुभयो । मैले अघि नै बहिष्कार गरिसकेँ भनेँ । राजाले पूर्ण रूपमा सरेन्डर गर्नुपर्छ भनेँ । सायद कसैले गिरिजाबाबुलाई त्यसलाई मान्नुपर्छ भनेर उकासेको थियो कि भन्ने लाग्छ ।
११ वैशाखका दिन जनता जागेर राजा हारेको दिन सायद कुनै नेपालीले बिर्सिन सक्दैनन् । १५ वैशाखमा पुनस्र्थापित संसद्को पहिलो बैठकको दिन राजदण्ड हटाउने विषयमा धेरै विवाद भएको हो । केही साथीहरूले राजतन्त्र हटाए ठूलो रक्तपात हुन्छ, भने । तर मैले हाम्रा लागि त्योभन्दा ठूलो अवसर कुनै हुँदैन, राजदण्ड र राजको कुर्सी संसद्बाट हटाउनैपर्छ भनेको हुँ । माओवादी र राज्यबीच भएको बृहत् शान्तिसम्झौतामा हस्ताक्षर गर्नुअघि त्यसलाई म आफैँले वाचन गर्ने अवसर पाएँ ।
संविधनसभाको निर्वाचनमा नेपाली कांग्रेस पराजित भयो । तर, कांग्रेस नेतृत्वका सरकारले मुलुकमा गणतन्त्र स्थापनाको औपचारिक प्रस्ताव संविधानसभामा पेस गरेर प्रस्ताव पारित भयो । त्यो मेरा लागि सबैभन्दा सुखद क्षण हो । त्यो पनि प्रधानमन्त्रीको तर्फबाट म आफैँले संविधानसभाको बैठकमा पेस गर्न पाएँ ।
प्रजातन्त्रको पक्षमा वकालत गर्दै राजाको शासनको विरोधमा उत्रिएका झापाका मेरा साथीहरूलाई सेनाले गिरफ्तार गरेर मरणासन्न बनाएर कुटेको घटना मेरो मानसपटल अहिले पनि ताजा नै छ ।
साभार
Comments
Post a Comment