Friday, August 12, 2011

फेसबुकः नबुझ्नेलाई खुर्पाको बिंड

हावर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकेनबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल (फेसबुक) अहिले विश्वभरका २ सय १३ मुलुकमा फैलिसकेको छ। मार्कले आफ्ना साथीहरू एकबोर्डो साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन गरेको यो सञ्जालमा अहिले विश्वभरका ७५ करोड (जुलाई २०११ सम्म) सदस्य आबद्ध भएको आधिकारिक तथ्यांक छ, जसमध्ये ११ लाख २० हजार नेपाली रहेको तथ्यांक पनि सार्वजनिक भएको छ। फेसबुक प्रयोगकर्ताका आधारमा नेपाल विश्वको ७२ औं स्थानमा छ। फेसबुकको प्रयोग गर्न १३ वर्ष पुग्नैपर्ने नियम छ, तर अहिले सामान्य जानकारी भएकाले पनि यसको प्रयोग गरिरहेका छन।

विभिन्न सामाजिक सञ्जालमध्ये विश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल हो— फेसबुक। व्यक्तिगत भावना साटासाट गर्नेदेखि साहित्य, समाचार एवं विचारहरूको मञ्च बनेको छ फेसबुक। लामो समयदेखि छुट्टएिका इष्टमित्र तथा साथीभाइहरूबीच मिलन गराउने माध्यम पनि बनेको छ फेसबुक। हरेक क्रियाको पछाडि प्रतिक्रिया अवश्यै हुन्छ। यो नियमबाट फेसबुक पनि अछुतो छैन। त्यसो त पाकिस्तान, चीन, भियतनाम, बंगलादेश, इरान, कजकिस्तान आदि ठाउँमा फेसबुकमाथि सेन्सरसमेत लगाइएको छ भने कैयौं मुलुकका कार्यालयहरूमा फेसबुकमाथि प्रतिबन्ध नै लगाउन थालिएको छ।