Wednesday, September 28, 2011

राजमार्ग वरपरको रेष्टुरेन्टमा यौन ब्यवसाय भएको भन्दै उजुरी


 रनिको राजमार्ग दायाँ–बायाँ सञ्चालित रेस्टुरेन्टमा प्रहरीले पैसा उठाएर यौनव्यवसाय सञ्चालन गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
नंखेल गाविस क्षेत्रमा भएका १७ वटा रेस्टुरेन्टले बाहिरबाट युवती ल्याएर यौनव्यवसाय सञ्चालन गरेको भन्दै गाविस संयन्त्रले विरोध गर्दै विकृति रोकिदिन प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएका हुन् ।
गाविस संयन्त्रका सहभागी नेमकिपाबाहेक अन्य दलका प्रतिनिधिले प्रमुख जिल्ला अधिका केशवराज आचार्यलाई भेटेर राजमार्ग दायाँ–बायाँका रेस्टुरेन्टमा हुने यौन धन्दा, जुवातास र गुन्डागर्दी रोकिदिन आग्रह गरेका छन् ।
‘प्रहरीलाई राजमार्गमा हुने विकृति रोक्न आग्रह गर्दा यो कुरा रेस्टुरेन्ट सञ्चालकलाई सुनाउँदो रहेछ,’ कांग्रेस गाविस प्रतिनिधि शेरबहादुर पन्थले भने, ‘रेस्टुरेन्ट सञ्चालकले हामीलाई गुण्डा लगाएर उल्टै कुटपिट गर्ने धम्की दिन्छन् ।’
प्रहरीले मासिक १५ हजार रुपैयाँ लिने गरेको माओवादी गाविस प्रतिनिधि एवं रेस्टुरेन्ट सञ्चालक नकुल रानामगरले बताए । ‘एउटा रेस्टुरेन्टबाट २ हजार ८ सय रुपैयाँ उठाउँछ, त्यसमध्ये प्रहरीलाई १५ हजार रुपैयाँ मासिक दिन्छन्,’ उनले भने, ‘पैसा उठाउन महानगरीय प्रहरी परिसरका घुमुवा जान्छन्, आजभोलि पनि उठाइरहेका छन् ।’