Saturday, August 8, 2009

को हुन यी ? दरबार हत्याकाण्डको दाबी गर्ने तुलप्रसाद...

आठ वर्षअघि तत्कालीन राजा वीरेन्द्रको समूल विनाश हुने गरी गराइएको नारायणहिटी दरबार-हत्याकाण्डको मुख्य योजनाकार आफू भएको दाबी गर्ने ६० वर्षीय तुलप्रसाद शेरचन प्रहरी खोरमा पुगेका छन् । १९ जेठ ०५८ मध्यरातमा भएको दरबार-हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, दीपेन्द्र शाह, श्रुति शाह, नीराजन शाहलगायत १० जना राजपरिवारका सदस्यको मृत्यु भएको थियो ।
हत्याकाण्डको छानबिनका लागि तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित समितिले हत्याको दोष तत्कालीन युवराज दीपेन्द्रलाई लगाए पनि छानबिन समितिको निष्कर्षले जनविश्वास पाउन सकेको थिएन । वीरेन्द्रको वंशनाश भए पनि उनका भाइ ज्ञानेन्द्र शाहको परिवार भने हत्याकाण्डबाट सकुशल बच्न सफल भएकाले हत्याकाण्डमा ज्ञानेन्द्रको संलग्नता रहेको आशंका कायमै थियो । राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको स्थापना भएपछि नारायणहिटी छोडेर जाने क्रममा हत्याकाण्डमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिएका थिए । राजधानीमा पत्रकार-सम्मेलन नै गरेर शेरचनले आफूलाई कतै अस्तित्वमा नदेखिएको रोयल इन्टेलिजेन्स ब्युरोको प्रमुख भएको दाबी गर्दै हत्याकाण्डको योजनाबारे श्रव्यदृश्यसमेत सप्रमाण सुरक्षित भएको सार्वजनिक गरेका थिए । शेरचनले आफूलाई दरबार-हत्याकाण्डको योजनाकार बताएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी अनुसन्धानका लागि भन्दै बिहीबार बेलुका खोरमा राखेको हो ।
बुधबार पत्रकारहरूलाई डाकी खुल्लमखुल्ला हत्याकाण्डको जिम्मा लिएर उनी सकुशल पुतलीसडकबाट बाहिरिएका थिए । उनको दाबीबारे समाचार प्रकाशित भएपछि मात्र प्रहरीले उनको खोजी सुरु गरेको थियो । खोजीका क्रममा म्याग्दी घर भई हाल ललितपुरको नखिपोट बस्दै आएका शेरचन सुनधाराको एक लजमा बसेको खबर पाएपछि काठमाडौं परिसरको एक प्रहरी टोलीले लज पुगेर उनलाई पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै हनुमानढोका ल्याएर प्रहरीले उनको केरकार गरेको थियो । केरकारमा संलग्न एक प्रहरीका अनुसार उनले सोधपुछका क्रममा समेत आफू योजनाकार भएको साक्षीका रूपमा विभिन्न व्यक्तिको नाम लिँदै बाँकी आफैँ अनुसन्धान गर्न प्रहरीलाई उल्टो चुनौती दिएका छन् । शेरचनको चुनौती उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, 'दरबार-हत्याकाण्डबारे मलाई पहिला नै जानकारी थियो भन्ने थाहा पाउने धेरै व्यक्ति छन् उनीहरूसँग कुरा गरेर आफैँ पुष्टि गर्नुहोस् ।' शेरचनले दरबार-हत्याकाण्डअघि पुनर्गठित नेकपा माओवादीका अध्यक्ष मातृका यादवसँग भेट भएको र सो भेटका क्रममा दरबार-हत्याकाण्डबारे यादवलाई जानकारी दिएको दाबी गरेका छन् । तर, यादवले भने जेलमा शेरचनसँग भेट भए पनि हत्याकाण्डको योजनाबारे केही नबताएको बताएका छन् । 'जेलमा भेटचाहिँ भएको हो, तर सो बेला उसले दरबार-हत्याकाण्डबारे केही बताएको थिएन,' यादवले भने, '६ दिनअघि एक्कासि आफ्नो कोठामा आएर उटपट्याङ गफ गर्न थालेपछि चिया खुवाएर पठाएको हुँ, उसको योजनाबारे मलाई जानकारी छ भन्नु हावा कुरा हो । नक्खु कारागारमा बन्दी हुँदा मातृका यादवसँग शेरचनको भेट भएको रहेछ । उनीनिकट स्रोतका अनुसार शेरचन ठगी मुद्दामा कारागार चलान भएका थिए । पुख्र्यौली थलो म्याग्दी भए पनि बच्चैदेखि उनी काठमाडौं बस्दै आएका थिए । उनले सेन्ट जेभियर्सबाट एसएलसी उत्तीर्ण गरी क्याम्बि्रज उत्तीर्ण गरेका छन् । शेरचन राजनीतिमा समेत सक्रिय थिए । पञ्चायतकालमा उनी रूपन्देहीबाट संसद् उम्मेदवार बनेका थिए । तर, पराजित भए । उनको कुनै स्थायी पेसा नभएको उनका भाइ श्याम शेरचनले बताए । तुलप्रसाद शेरचनले प्रहरीसँग आफूले 'बाबु-बाजेको सम्पत्ति बेचेर बसेको' बताएका छन् । उनी बुटवल र सानेपामा करोडौँ सम्पत्ति भए पनि ती सबै बेचेर हाल ललितपुरको नखिपोटमा डेरामा बस्दै आएका थिए ।
उनले बुधबार पत्रकार-सम्मेलन गरी जे-जस्ता दाबी गरेका थिए, प्रहरी हिरासतमा पनि त्यही दोहोर्‍याएका छन् । उनले प्रहरीसमक्ष हत्याकाण्डको योजनाको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरिरहेका भए पनि प्रमाण कहाँ छ भन्ने बताएका भने छैनन् । प्रहरीसमक्ष उनले आफूले सेन्ट जेभियर्स स्कुल जावलाखेलबाट ०२६ सालमा एसएलसी दिएको बताएका छन् । दरबारका प्रायः सबैजनासँग आफ्नो निकट सम्बन्ध रहेको उनले दाबी गर्दै आएका छन् । नेपालको विकासका लागि आएको वैदेशिक सहयोग दरबारियाहरूले आफ्नो स्वार्थमा खर्च गरेको सहन नसकेर सन् १९७० ताका नै आफूले धीरेन्द्र शाहलाई 'यस्तै ताल हो भने नेपालमा राजसंस्था लामो समय टिक्न नसक्ने' चुनौती दिएको शेरचनले दाबी गरेका छन् । शेरचननिकटका अनुसार उनी धेरै पहिलादेखि नै यस्तै उटपट्याङ कुरा गर्ने गर्थे । उनीनिकट एक व्यक्तिले भने, 'कहिले ठूला-ठूला हस्तीलाई गोली हानेर मार्न सक्छु भन्थे त कहिले आफूले चाहे नेपालमा पेट्रोल र डिजेलको खोलो बगाउन सक्छु भन्थे ।' सार्वजनिक स्थानमा हत्या गरेको दाबी गरेका आधारमा प्रहरीले उनलाई अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिए पनि शेरचन दरबार-हत्याकाण्डका योजनाकार रहेको भन्नेमा प्रहरीहरू नै विश्वस्त छैनन् । प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिए पनि कुन अभियोगमा मुद्दा लगाउने भन्ने तय गर्न सकेको छैन । अनुसन्धानका लागि प्रहरीले शुक्रवार शेरचनको डेरामा छापामारी केही कागजपत्र नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि प्रहरीले शेरचनसँगै अन्य तीनजनालाई समेत हिरासतमा राखेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी नवराज सिलवालले शेरचनमाथिको अनुसन्धानको प्रारम्भ उनको मानसिक अवस्थाबाट सुरु गरिने बताए । उनले भने, 'मानसिक सन्तुलन ठीक भएको व्यक्तिले सार्वजनिक स्थानमा पत्रकार-सम्मेलन नै गरेर घटना गराएको स्वीकार गर्ने कमै हुन्छन् । त्यसैले प्रारम्भमा उनको मानसिक अवस्था कस्तो छ भन्ने परीक्षणपछि मात्र अन्य अनुसन्धान अघि बढाउनेछौँ ।' हत्याकाण्डको आठ वर्षपछि शेरचनको आफू नै हत्याको योजनाकार भएको दाबी गरेकाले यसका पछाडि अन्य कारणहरूसमेत हुनसक्ने अनुमान गर्दै प्रहरीले राजनीतिक कोणबाट समेत अनुसन्धान गर्ने तयारी गरेको छ । एसपी सिलवालले भने, 'उनले गम्भीर घटनामा आफू संलग्न रहेको दाबी गरेकाले हामी हरेक कोणबाट अनुसन्धान गर्छौं ।'


श्याम शेरचन

तुलप्रसादका भाइ

उहाँ बुद्धिजीवी नै हुनुहुन्थ्यो । जावलाखेलमा रहेको सेन्ट जेभियर्सबाट एसएलसी पास गर्नुभएको हो । उहाँले त्यस वेलामा क्याम्बि्रज पास गर्नुभएको थियो । पञ्चायतकालमा रूपन्देहीमा सांसदको उम्मेदवार बनेर पराजित हुनुभएको थियो ।

दरबारसँग उहाँको सम्बन्धका बारेमा हामीलाई धेरै जानकारी नै छैन । हामीसित कुरा गर्दा गोदावरीमा पढ्दा दरबारका व्यक्तिहरू चिनेको छु भन्नुहुन्थ्यो । तर, त्यति चासो राखिएन । हामी त व्यापारी मान्छे । तर, उहाँ कुनै कामै गर्नुहुन्नथ्यो । उहाँ रोयल इन्टेलिजेन्स ब्युरोको अध्यक्ष भएको कुरो त समाचार हेरेर मात्र थाहा पाएका हौँ ।

दाजुभाइ अलग बस्ने भएकाले कहिलेकाहीँ मात्र भेट हुन्थ्यो । सात महिनाअघि उहाँसँग भेट भएको थियो । घरमा भाउजू र भतिज मात्र छन् । भाउजू पनि बिरामी हुनुहुन्छ । उहाँले किन यस्तो भन्दै हिँड्नुभएको हो, मेसो पाउनै सकिएन । किन आफैँलाई दुःख दिनुभएको होला ?

Friday, August 7, 2009

साँच्चै, नेवार समुदाय जनजाति हुन कि होइनन् ?

'नेवार Newars' समुदाय साँस्कृतिक रुपले निकै सम्पन्न छ । यो एक अल्पसंख्यक जाति हो । काठमाण्डौं उपत्यका मूलथलो भएका यिनीहरुको जातिगत धारणामा विज्ञहरु अल्मलिएका छन् । कसैकसैले यिनीहरुका पूर्खाहरु किराँत लिच्छवी हुन् भनेका छन् भने कसैकसैले यिनीहरुमा र्य, मंगोल र आस्टे्रलाइट आदिवासीहरुको सम्मिश्रण रहेको छ भनेका छन् । नेवार जातिमा विशेष जानकार राख्ने लुसियानो पेटेज, वान्र्डर्फ डा. राजेश गौतम, ओलफिल्ड लगायतका जानिफकारहरु आ-आफ्नै मत प्रस्तुत गर्छन् । अझै पनि नेवारहरु तिब्बतबाट नेपाल आएका मानिस र भातबाट नेपाल आएका मानिसको सम्मिश्रणबाट उत्पति भएका जाति हुन, नेवारहरुको आदिमस्थल दक्षिणको 'नायर' प्रदेश हो र कर्नाट वंशीय राजा नान्यदेवका साथ नेपाल आएका हुन्, भन्ने धारणा रहेको छ ।

कहाँसम्म त्यो सत्य हो खोजीको विषय हुनजान्छ । अझ कसैकसैले त नेवारहरु जनजाति नभएको र यिनीहरु खासगरी भारतीय र तिब्बतीमूलको मिश्रणबाट बनेको एक नयाँ समुदाय हो भनेका छन् ।साँच्चै, नेवार समुदाय जनजाति हुन कि होइनन् ? आफुहरु जनजाति हो कि होइन ? भन्नेमा स्वयम् नेवारहरु नै अल्मलिएका छन् । तत्कालीन श्री ५ को सरकारको 'राष्ट्रिय जनजाति उत्थान प्रतिष्ठान' कार्यदलले नेपालका ६१ जनजातिहरुलाई समेटेर तयार पारेको प्रतिवेदनमा नेवार जातिलाई पनि जनजातिमा समाविष्ट गरेको थियो तर पछि संसदमा नेवारहरुले आफुहरुलाई जनजातिको सूचीमा राखेकोमा आपत्ति जनाएपछि नेवार समुदायलाई जनजाति सूचीबाट हटाइएको थियो । अचम्म के छ भने ! नेवारहरुको एक समुहले आफुहरु जनजाति होइन भनि जनजातिको सूचीबाट हटाउन लगाए भने नेवारहरुकै अर्को समुहले नेवारहरुलाई जनजातिभित्रै राखिनुपर्ने माग गरे । झन् नेवारहरुको 'नेपालभाषा मंकाखलः' भन्ने जातिय संस्थाले त आफुहरुलाई जनजातिमा समेटिनुपर्ने भन्दै जनजाति महासंघमा आफुलाई आवद्ध गराइसकेको छ । भलै, जाति र जनजाति कस्तालाई भन्ने बारे अस्पष्ट रहेका बेला दाङ देउखुरीका मधुसुधन पाण्डेद्वारा लिखित पूस्तकमा नेवारहरु ब्राहृमण(जोशी, गुरुवाचार्य)देखि शुद्र(पोडे, कसाई, कुचीकार)सम्म रहेकाले उनिहरुलाई जनजाति भन्न नहुनेमा तर्क प्रस्तुत गरेका छन् । खयर जे होस् यो टाँसोमा नेवार जातिहरुको चिनारी प्रस्तुत गर्ने जमर्को गर्छु ।नेवार समुदायमा पेशाका आधारमा जात र थरहरु छुट्याइएका छन् । ब्यापार तथा व्यवसायलाई सधैंभरि आफ्नो पेशा मान्दै आएकोलाई तुलाधर, तण्डुकार, इट्टा, झिंगटी, टायल पोल्नेलाई अवाले, माटाका भाडाकुडाँका साधनहरु बनाउनेलाई कुमाले, मिठाईजन्य पदार्थ बनाउनेलाई मधिकःमी, नर्सरी तथा फूलबारीमा काम गर्नेलाई माली, प्रायः खेतबारीमा खेतीपातीको काम गर्नेलाई ज्यापु, तोरीको तेल पेल्ने अर्थात तेलहनका व्यवसाय गर्नेलाई सायमी र मानन्धर, फलामजन्य क्रियाकलाप गर्नेलाई नकःमी र कौले, कपाल अथवा केश काट्नेलाई नापित, चित्र लेख्ने र कोठा रंगाउनेलाई चित्रकार, लुगामा रङ्ग लगाउनेलाई रजितकार, बाजा बजाउन जान्ने र लुगा सिउनेलाई कुम्ले, मासुका कारोबार गर्नेलाई खड्गी, चर्पी सरफाई गर्नेलाई सुवर्णकार, पुरोहित कर्म गर्नेलाई गुभाजु, बज्राचार्य, वरे र शाक्य र काँससम्बन्धी कारोबार गर्नेलाई कंसकार भनिन्छ । त्यसैगरि नेवार समुदायभित्र राजोपाध्याय, देउवाहुन, भटुवाहुन, झावाहुन, प्रधान, मल्ल, मास्के, अमात्य राजभण्डारी, वैद्य, श्रेष्ठ, डंगोल, सुवाल, मानन्धर, पुतवार, दली, कुलु, द्योला, च्याखंल, हालाहुल लगायतका थरहरु रहेका छन् ।विं.सं २०४८ सालको जनगणनाअनुसार ५ लाख १९ हजार १ सय १५ पुरुष र ५ लाख २१ हजार ९ सय ७५ महिला गरि १० लाख ४१ हजार ९० नेवार जनसंख्या रहेको छ । त्यसैगरि वि.सं. २०५८ सालको जनगणनाअनुसार १२ लाख ४५ हजार २ सय ३२ जनसंख्या उल्लेख छ । नेवार समुदायको आफ्नै भाषा लिपि रहेको छ । नेपालभर नेवारी भाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको आँकडाले देखाएको छ । यद्यपि कहिँकहिँ यिनीहरु क्षेत्रीय भाषा बोल्ने गर्दछन् त्यसैले होला हाल नेवारहरु आफ्नो भाषा बिर्सने क्रममा छन् । नेवारहरुको लिपिलाई 'रञ्जना लिपि' भनिन्छ । शिक्षाको क्षेत्रमा नेवार जाति अन्य जाति भन्दा निकै अघि छन् । नेवार समुदाय शिक्षित भएकै कारणले होला यिनीहरु हरेक ठाउँमा अघि छन् । नेवारहरुले मुख्य पेशाका रुपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन् । जहाँजहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँत्यहाँ नेवारहरुको वर्चस्व कायम छ भन्दा फरक नपर्ला । नेवार समुदायमा साँस्कृतिक विविधता छ । यिनीहरुका लागि जात्रा पर्व र भोज कुनै नौलो कुरा होइन । यिनिहरु बिभिन्न धार्मिक तथा देवीदेवताका नाच नाच्छन् । यिनीहरु चैत महिनामा घोडेजात्रा, सेतो मच्छिन्द्रनाथको जात्रा, बैशाख-जेष्ठमा रातो मच्छिन्द्रनाथको जात्रा, भोटो जात्रा, श्रावणमा गाईजात्रा, भदौंमा इन्द्रजात्रा, कुमारी जात्रा, चैत मशान्त र बैशाख संक्रान्तिमा बिस्केट जात्रा, ठिमी जात्रा, दुईमाज्यूदेवी जात्रा, चण्डेश्वरी जात्रा, इन्देश्वरी जात्रा, बाह्रवर्षे जात्रा, पलाञ्चोक भगवति जात्रा, त्रिशूल जात्रा, प्रेत चतुर्दशी जात्रा, हरिसिद्धी लगायतका जात्राहरु निकाल्ने गर्दछन् । त्यसैगरि यिनीहरु जेष्ठ महिनामा सिठीनखः, बैशाख महिनामा मातृऔंशी, द्यगुपूजा, भदौंमा पितृऔंसी, गणेश चथा, कार्तिकमा 'म्ह' पूजा, नेपाल संम्बत् लगायतका चाडपर्वहरु धुमधामका साथ मनाउने गर्दछन् ।नेवार समुदायको बैवाहिक विधि निकै रोचक छ । नेवार समुदायमा बिवाह गर्दा जात छुट्याइने गरिदैन । प्रेम बिवाहमा जात तलमाथि भएपनि मागी बिवाहमा भने तलमाथि पारिने गरिदैन । नेवार बालिकाहरु ७ देखि ९ वर्षमा 'बेल(फल)' सँग विबाह गरिदिने प्रचलन छ यिनीहरुमा । सानै उमेरमा नेवार बालिकाहरुको बेलसँग बिवाह गरिदिने हुनाले उनिहरु कहिल्यै विधुवा नहुने धारणा राख्छन् । बिवाह गर्दा उनिहरु एउटा सुपारी साथै राख्ने गर्दछन् । केही गरी श्रीमान्को मृत्यु भए सुपारी फिर्ता गरी ‘पारपाचुके’ गरिने प्रचलन छ । यिनीहरुका लागि पारपाचुके गर्ने कुनै समय हुँदैन । श्रीमानको शव अन्तिम संस्कारका लागि लगिरहेको बेलामा श्रीमतिले झ्यालबाट सुपारी खसालीदिए पनि पारपाचुके हुने गर्दछ यति सम्म कि चितामा श्रीमानको शव जलिरहेको अवस्थामा लासमाथि सुपारी राखिदिए पनि पारपाचुके हुने गर्दछ । पारपाचुके गर्ने/नगर्ने निर्णय पूर्ण श्रीमतिमा निहित हुने गर्दछ । पारपाचुके गरिसकेको नारीलाई नेवार समुदाय पुनः कन्याका रुपमा बिवाह गरिदिने गर्दछन् । नेवार समुदाय बिवाहका लागि धेरै समय लगाउने गर्दछन् । यिनीहरुको बैवाहिक विधि झन्झटिलो हुने गर्दछ ।नेवार समुदाय जति साँस्कृतिक कर्मकाण्डमा धनि छन् त्यति नै अन्धविश्वासी पनि । यिनीहरु लाखे र भूतलाई विशेष स्थान दिन्छन् । नेवारी भाषामा राक्षसलाई 'लाखे' र भूतलाई 'ख्या' भन्ने गर्दछन् । जनकलाल शर्माको 'हाम्रो समाज एक अध्ययन' भन्ने पुस्तकका अनुसार कोही व्यक्ति आफ्नो शिर काटेर मर्‍यो भने त्यो 'मुलकता ख्या' भन्ने भूत बन्छ । कोही व्यक्ति आत्महत्या गरेर, धेरै पीडा सहेर वा अगति परेर मर्‍यो भने त्यो 'अगतित्वों ख्या' भन्ने भुत बन्छ । घरभाडा बस्ने मान्छे मर्‍यो भने त्यो 'सीक अगति ख्या' भन्ने भूत बन्छ । घरघरमा ढुङ्गा हान्ने भूतलाई 'हानाछें ख्या' भनिन्छ । मध्यरातमा चल्ला जस्तै कराएर केटाकेटीलाई तर्साउने भूतलाई 'भूजिंखा ख्या' भनिन्छ । बाटामा एक्लै हिँडेका बेला नामै लिएर बोलाएर तर्साउने भूतलाई 'नाँ-सु-ख्या' भनिन्छ । यसरी नेवार समुदाय भूतप्रेतमा विश्वास गर्ने गर्दछन् त्यसैले उनिहरुले आफ्नै भाषामा तिनीहरुको नामाकरण गरेका हुन् ।नेवार समुदाय हिन्दू, बौद्ध, क्रिस्चियन, धर्म मान्ने भएकाले यिनीहरु आ-आफ्नौ धार्मिक विधिद्वारा मरेकाको अन्तिम संस्कार गर्ने गर्दछन् । हिन्दू धर्म मान्ने नेवार समुदायहरु सेतो कपडा लगाएर १३ औं दिनमा चोखिन्छन् ।

श्रोत: खसखस