मानिसभित्र सेक्स छ, किनभने सेक्स उसको जीवनको स्वभावको हिस्सा हो । ब्रह्मचर्य लिँदैमा सेक्सलाई नष्ट गर्न सकिन्न, दबाउनचाहिँ सकिन्छ । र, त्यो दबेको सेक्स उसको सपनामा आउन थाल्छ, वेलावेला प्रकट हुन थाल्छ । पाँच हजार वर्षदेखि नैतिकतामा जोड दिने शिक्षाले मान्छेलाई केवल पाखण्डी बनाएको छ ।
ओशो रजनीश
ओशो रजनीश: भन्ने गरिन्छ- यो समय अन्धकारपूर्ण समय हो, यो युग भौतिकवादको युग हो र पतनको युग हो । यो अत्यन्त गलत कुरा हो । सरासर झुट हो । यसबाट यो भ्रम पैदा हुन्छ कि पहिलेका मानिस प्रकाशपूर्ण थिए र अहिलेका मानिस अन्धकारपूर्ण छन्, यसबाट यो भ्रम पैदा हुन्छ कि पहिलेका मानिस अन्धकारमा थिएनन् र हामी अन्धकारमा छौँ । हामी अनैतिक छौँ र पहिलेका मानिस नैतिक थिए भन्ने कुरा कदापि सत्य होइन । पहिलेका मानिस नैतिक थिए भने महावीरले हिंसा नगर, चोरी नगर, असत्य नबोल भनेर कसलाई सम्झाएका हुन् ? बुद्धले कसलाई उपदेश दिए ? राम र कृष्ण कसलाई असल बन्न सम्झाइरहेका थिए ? उनीहरू असल थिए भने यी उपदेश व्यर्थ थिए, यिनको कुनै औचित्य थिएन, आवश्यकता थिएन ।
पुरानो समयमा ठुल्ठूला शिक्षक किन भए ? किनभने जहाँ अँध्यारो हुन्छ, त्यहाँ दियो आवश्यक हुन्छ । जहाँ त्रुटि हुन्छन्, त्यहाँ शिक्षक पैदा हुन्छन् । जहाँ गल्ती हुन्छन्, त्यहाँ सुधारक जन्मिन्छन् । अघिल्ला शताब्दीमा यति धेरै र यति ठूला सुधारक हुनु केको सबुत हो ? यो यस कुराको सबुत हो कि पुरानो समयका मानिस पनि हामीजस्तै थिए । उनीहरू पनि चोरी गर्थे, उनीहरू पनि बेइमान थिए, उनीहरू पनि हिंसा गर्थे र उनीहरू पनि युद्ध गर्थे । उनीहरू बेइमान थिएनन् भने इमानदारीको शिक्षा कसका लागि थियो ? उनीहरू चोर थिएनन् भने चोरी गर्नु हुँदैन भनेर कसलाई सम्झाइएको थियो ? उनीहरू हामीजस्तै मानिस थिए । मानिसमा कुनै परिवर्तन भएको छैन । पहिलेका मानिस प्रकाशमा थिएनन् । वास्तवामा मान्छे आजसम्म अन्धकारमा रहेको छ ।
०००
आज हामी यस पृथ्वीमा छौँ । हजार वर्षपछि हामीलाई याद गर्ने को हुन्छन् ? कोही हुँदैनन् । तर, गान्धी याद गरिनेछन् । हामी सबैको नाम बिर्सिइनेछन्, हाम्रा नीति/अनीति सब बिर्सिइनेछन् । हामीमध्ये केवल गान्धीको सम्झना गरिनेछ । र, हजार सालपछि मानिस सोच्नेछन् कि गान्धी यति असल थिए भने उनको समयका सारा मानिस असल थिए होलान् । तपाईंलाई थाहा छ- बुद्धको समयमा को-को यस धर्तीमा थिए, को-को बाटोमा हिँडिरहेका थिए र को-को गाउँमा बस्थे ? तपाईंलाई थाहा छ- रामको पालामा को-को थिए ? तपाईंलाई थाहा छ- कृष्णको समयमा को-को थिए ? सामान्य मानिसको कुनै कथा बाँकी रहँदैन । केवल अपवाद बाँकी रहन्छन् । र, ती अपवादका आधारमा निर्णय गरिन्छ- पहिलेका मानिस असल थिए किनभने बुद्ध असल थिए, महावीर असल थिए । निःसन्देह, गान्धी असल थिए । तर, गान्धीका समयका हामी असल छौँ त ? सत्य के हो भने सबै असल हुँदा हुन् त गान्धीलाई याद गर्नुपर्ने आवश्यकता नै रहने थिएन । महावीरको समयका सारा मान्छे असल हुँदा हुन् त महावीर उहिल्यै बिर्सिइन्थे । सम्पूर्ण अँध्यारोमा उनी एकजना मात्र चम्किरहेका थिए, त्यसैले उनलाई देख्न सकियो । सबै चम्किरहेका हुन्थे भने महावीर उहिल्यै हराउँथे ।
यस संसारमा केवल दस-पन्ध्रजना मानिसका नाम हामीलाई सम्झना छ भने त्यसको एउटै कारण हो- अँध्यारो रातमा उनीहरू मात्रै चम्किरहेका तारा थिए । तर, मानिसको जिन्दगी आजसम्म अँध्यारोमै छ ।
पाँच हजार वर्षमा पन्ध्र हजार युद्ध भएका छन् । पन्ध्र हजार युद्ध कसले लडे ? यदि उनीहरू असल मानिस थिए भने यी युद्ध को लडिरहेको थियो ? हिन्दुस्तानको जमिनमा मात्रै दुई हजार राज्य थिए र हरेक दिन यस जमिनमा लडाइँ चलिरहेको थियो । को लडिरहेको थियो, यो लडाइँ ? के लडाइँ प्रेमले लडिन्छ ? इमानदारीले लडिन्छ ? महाभारत भयो हाम्रो मुलुकमा । जसलाई हामी आज असाध्यै राम्रा र असल मानिस भन्छौँ उनीहरू आफ्नी पत्नीलाई जुवाको दाउमा राख्न सक्थे । यी कस्ता असल मानिस थिए होलान् ? असल मानिस थिए भने उनीहरूले किन मुलुकका लागि लडेनन् ? सिंगो मुलुकलाई सायद दुई चार/हजार वर्षको ऋण लगाएर लडे । जुवा खेल्थे र पत्नीलाई दाउमा लगाउन सक्थे किनभने असल मानिस थिए !
आजसम्म यस धर्तीमा जति किताब लेखिएका छन्, सबैको एउटै भनाइ छ । पुरानाभन्दा पुराना किताब पनि यही भन्छन् कि पहिलेका मानिस असल थिए । तर, पहिलेका मानिस कहिले थिए ? तपाईंले कुनै यस्तो किताब पढ्नुभएको छ जसले आजका मानिस असल छन् भनेको होस् ? चीनमा भेटिएको संसारको सबभन्दा पुरानो किताब (छ हजार वर्ष पुरानो)ले पनि पहिलेका मानिस असल थिए, आजका मानिस नष्टभ्रष्ट भए भन्छ ।
०००
पहिलेका मानिसलाई असल भन्नुको कारण यो होइन कि उनीहरू असल थिए । अहिलेका मानिसका निन्दा गर्न, उनीहरूलाई तल्लोस्तरका देखाउन पहिलेका मानिसलाई असल भनिएको हो । पहिलेका मानिस असल थिए भने उनीहरूबाट आजका खराब मानिस कसरी पैदा भए त ? पहिलेको संस्कृति र सभ्यता राम्रा थिए भने आज यी दुष्परिणाम कसरी आए ? यी तिनैका त फल हुन्, तिनैका त परिणाम हुन् ।
मैले भन्न खोजेको के हो भने यो सवाल कुनै युगको होइन कि मान्छे अन्धकारमा छ । मानिसको चित्त जो आजसम्म उस्तै छ, त्यसको कारण यो अँध्यारो पैदा भएको हो । यो युगको भूल होइन । मानिसको चित्तको परिणाम हो । र, जबसम्म हामी मान्छेको मन बदल्ने तरिका र विधि पत्ता लगाउँदैनौँ र जबसम्म ठूलो परिमाणमा मानिसको चेतनालाई बदल्ने उपाय गर्दैनौँ, धर्तीमा अन्धकार रहनेछ । यो कुनै युगको सवाल होइन । यो सत्य युग र कलियुगको सवाल होइन । यो सवाल मानिसको मनको हो । र मानिसको मन पाँच हजार वर्षदेखि उस्तै छ । यसमा अलिकति पनि परिवर्तन भएको छैन ।
यी पाँच हजार वर्षमा मानिसको मन बदल्ने लाखौँ प्रयास भए । तर, यी प्रयास किन विफल
भए ? र, आज पनि मानिसलाई बदल्न हामी तिनै चिज गरिरहेका छौँ जो पाँच हजार वर्षदेखि असफल भएका छन् । हामी यिनैलाई दोहोर्यारहन्छौँ भने आउने समय पनि अन्धकारपूर्ण नै हुनेछ ।
०००
के कारणले मानिसको मन बदलिन सकेको छैन ? के कारणले मानिस गोल-गोल घुमिरहेको छ ? शताब्दी बित्छन्, तर मानिस जहाँको त्यहीँ रहन्छ । ती कारणमध्ये एक यो हो कि हामीलाई निरन्तर भनिन्छ- मानिस नैतिक हुनुपर्छ । यो शिक्षा धेरै पुरानो हो । तर, मानिस किन नैतिक भएन त ?
धार्मिक नभईकन मानिस नैतिक हुन सक्दैन । तर, हामीलाई त बताइएको छ कि नैतिक भएपछि धार्मिक भइन्छ, नैतिक नभई धार्मिक हुन सकिन्न । यो विल्कुल उल्टो र गलत कुरा हो । नैतिकता धार्मिक मान्छेको सुगन्ध हो । भित्र, चित्तमा धर्म छ भने जीवनमा नीति हुन्छ । अन्तष्करण परिवर्तित भयो भने आचरण बेग्लै हुन्छ । नीतिको सम्बन्ध आचरणसँग हुन्छ, धर्मको अन्तष्करणसँग । तर, पाँच हजार वर्षदेखि हामी भनिरहेका छौँ कि मानिस नैतिक हुनुपर्छ । अन्तष्करण नबदली आफ्नो आचरण बदल्ने मानिस नैतिक त हुन सक्दैन, बरु विकृत अवश्य हुन्छ । त्यो मान्छे आफ्नो जीवनलाई नैतिक बनाउन के गर्छ जसको भित्र सेक्स छ, जसको भित्र सेक्स हुन्छ, हुनु पनि पर्छ किनभने सेक्स उसको जीवनको स्वभावको हिस्सा हो । त, त्यो मान्छे के गर्छ ? ब्रह्मचर्य लिन्छ । ब्रह्मचर्यले के हुन्छ ? यति कि ऊ सेक्सलाई दबाउँदै जान्छ, दबाउँदै जान्छ । त्यो दबेको कामुकता, त्यो दबेको सेक्स नष्ट हुँदैन । बरु, उसको अचेतन मनका पत्रमा घुम्न थाल्छ, सपनामा आउन थाल्छ, कमजोर क्षणमा प्रकट हुन थाल्छ । ऊभित्र निरन्तर अवस्थित सेक्सले उसलाई भयभीत बनाउन थाल्छ । यस भयले उसलाई टाढा लैजान्छ, मानवबस्ती छोड्न लगाउँछ र जंगल पुर्याउँछ । स्त्री देख्यो भने ऊ आँखा बन्द गर्छ, ब्रह्मचर्य टुट्ला कि भनेर डराउँछ । किन डराउँछ ? किनभने सेक्सका लहर उसलाई धक्का दिइरहेका हुन्छन् ।
०००
दुई भिक्षु नदी तर्न खोजिरहेका थिए । एक युवा थियो भने अर्का वृद्ध । तीस वर्षदेखि ब्रह्मचर्यमा रहेको थियो, वृद्ध । एक युवती नदीकिनारमा उभिइरहेकी थिई । उसलाई पनि नदी पार गर्नु थियो । तर, नदी गहिरो भएकाले एक्लै तर्ने आँट गर्न सकेकी थिइन । युवतीको हात समातेर नदी पार गराइदिनुपर्ला भन्ने सोच आउनासाथ वृद्ध भिक्षु पसिना-पसिना भयो । तीस वर्षदेखि उसले जुन सेक्सलाई वशमा गरेँ भन्ठानेको थियो, त्यही सेक्स ऊभित्र अत्यन्त तीव्रताका साथ खडा भएको थियो । उसका हातपाउ कामिरहेका थिए, ऊ भयभीत थियो । जब कि उसले त्यस युवतीलाई छोएकोसम्म थिएन । आँखा झुकाएर, राम-राम जपेर उसले नदी पार गर्यो । तर, ऊभित्र राम थिएन, थिई त त्यही युवती ।
नदी पार गरेपछि उसले र्फकेर हेर्यो- उसको युवासाथी युवतीलाई काँधमा हालेर नदी तर्दै थियो । वृद्ध भिक्षुलाई रिस उठ्यो, 'भिक्षु भएर काँधमा युवती बोक्ने ! आश्रममा गएपछि यसको झाँको झार्नेछु ।'
आश्रममा उसले युवा भिक्षुलाई खुब हपार्यो, 'ब्रह्मचर्यको प्रतिज्ञा लिएको मानिसले स्त्रीजातिलाई छुनु पनि हुन्न । तैँले त काँधमा बोकिस् । यो कुरो गुरुलाई नभनी छाडि्दनँ ।'
युवा भिक्षुले हाँसेर भने, 'हे वृद्ध भिक्षु, मैले त त्यस युवतीलाई नदी तर्नासाथ काँधबाट उतारिदिएको थिएँ, तर तपाईंले त अहिलेसम्म उसलाई काँधमा बोकिरहनुभएको रहेछ ।'
०००
जसलाई हामी दबाउँछौँ, त्यो नष्ट हुँदैन । भित्र लुकेर बस्छ । जति दबाउँछौँ, त्यति भित्र गएर बस्छ र वेला-वेला प्रकट हुन्छ ।
हामी सत्य बोल्ने ब्रत लिन्छौँ, तर हामीभित्र असत्य लुकेर बसेको हुन्छ । हामी इमानदार हुने कसम खान्छौँ, तर भित्रबाट बेइमानी धक्का दिइरहेको हुन्छ । यो दबाउने प्रक्रियामा मानिस दुई हिस्सामा बाँडिन्छ, देखिने हिस्सा र हुने हिस्सा । देखिने र हुनेबीचको संघर्ष जीवनभर चलिरहन्छ । र, यस संघर्षले जीवनलाई नर्क बनाइदिन्छ । अब दुइटा बाटा हुन्छन् । यदि त्यो मानिस बाठो छ भने पाखण्ड यौटा बाटो हुन्छ । बाहिरबाट जस्तो देखिन्छ, ऊ त्यसैमा कायम रहन्छ, तर यौन कामनाको लुकिछिपी परिपूर्ति गर्छ । नैतिक शिक्षाको अनिवार्य परिणाम पाखण्ड भएको छ । सिंगो मानवजाति पाखण्डी भएको छ ।
कदाचित सेक्सलाई दबाउने मानिस पाखण्डी बनेन भने उसका लागि दोस्रो बाटो हो- पागल हुनु । किनभने, अतृप्त सेक्सको तनाब झेल्दा-झेल्दा ऊ टुट्न थाल्छ र विक्षिप्त हुन्छ ।
रजनीशको एक प्रवचनमा आधारित
स्रोत:
Comments
Post a Comment