सफा पानीमा बस्ने लामखुट्टेले सार्ने रोग डेंगीको प्रकोप मुलुकभर देखिएको विशेषज्ञहरूले जनाएका छन् । चितवनमा भने डेंगीसँगै 'लेप्टोस्पोरोसिस' को उच्च जोखिम रहेको चेतावनी पनि उनीहरूले दिएका छन् ।
चितवनभन्दा अघि धनगढी, नेपालगन्ज, कञ्चनपुर, भैरहवा, तनहुँ, धादिङ लगायत जिल्लाका बिरामीमा पनि डेंगी देखिएको प्रयोगशालाबाट प्रमाणित भएको उल्लेख गर्दै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. वासुदेव पाण्डेले भने, 'डेंगी मुलुकको धेरै ठाउँमा प्रकोपका रूपमा देखिएको छ, नियन्त्रणमा ल्याउन नसके महामारीकै रूप लिन सक्ने सम्भावना छ ।'
दमौलीमा बस्ने दुई जापानी नागरिकमा समेत डेंगी देखिएको उल्लेख गर्दै चिकित्सक पाण्डेले भने, 'आइतबार त्रिवि शिक्षण अस्पतालमा दुई जना काठमाडौंकै बासिन्दाले पनि डेंगीको उपचार गराएका छन् ।' राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले चितवनबाट ल्याइएको रोगीका नमुनामध्ये दस जनामा लेप्टोस्पोरोसिस, तीन जनामा डेंगी र एक व्यक्तिमा दुवै संक्रमण देखिएको छ ।
केही दिनयता चितवनमा भाइरल ज्वरो लगायतका बिरामीको संख्यामा वृद्घ िभएपछि चार दिनअघि प्रयोगशालामा ७२ वटा नमुना विशेष परीक्षणका लागि ल्याइएको थियो । 'नमुनामध्ये दसमा लेप्टोस्पोरोसिस, तीनमा डेंगी र एउटामा दुवै संक्रमण देखियो,' प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले भनिन्, 'यो रोगबारे एक पटक सर्वेक्षण नै गर्नुपर्ने अवस्थ्ाा देखिएको छ ।'
डा. पाण्डेका अनुसार टेकुस्थित सरुवा रोग अस्पतालमा हालै भएको अध्ययन अनुसार टाइफाइडका उपचार गराएका रोगीमध्ये ४० प्रतिशतमा लेप्टोस्पोरोसिसको संक्रमणसमेत देखिएको छ । 'लेप्टो र डंेगी चितवनमा फाट्टफुट्ट देखिएको हो,' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले प्रकोपकै रूपमा भन्न नमिल्ने दाबी गरे ।
लेप्टोको कुनै तथ्यांक नराखिएको भने डा. ठाकुरले स्वीकार गरे ।
प्रयोगशालाका विशेषज्ञका अनुसार हाल रोगहरू देखिए पनि सम्बद्घ निकाय मौन बस्ने गरेको छ । 'यस्तै स्थिति रहे एक्कासि प्रकोपले भयानक रूप लिनेछ, त्यसबेला हेर्नुबाहेकको विकल्प रहँदैन,' ती विशेषज्ञले भने । स्वास्थ्य मन्त्रालयका अर्का एक विशेषज्ञले डेंगी र लेप्टो नियन्त्रणमा मन्त्रालय उदासीन देखिएको आरोप लगाए ।
सम्भाव्यतालाई दृष्टिगत गरी मन्त्रालयले लेप्टो र डेंगी नियन्त्रणका लागि कुनै उपयुक्त रणनीति हालसम्म बनाएको छैन ।
चितवन मात्र नभई धनगढीबाट ल्याइएको चार नमुनाको प्रयोगशालामा गरिएको इलाइजा परीक्षणमा डेंगी नदेखिए पनि तीव्र परीक्षणमा डेंगी देखिएको थियो । धनगढीका चिकित्सकले चारै रोगीलाई क्लिनिकली डेंगी किटान गरेर उपचारसमेत गरेका थिए । स्रोतले डेंगी परीक्षण गर्ने रैपिड डाइग्नोस्टिक टेस्टको संवेदनशीलता धेरै कम रहेकाले वास्तविक रोगीको पहिचान हुन नसकेको दाबीसमेत गरे । 'सरकारद्वारा वितरित तीव्र परीक्षण किटको संवेदनशीलता २० प्रतिशतभन्दा पनि बढी लाग्दैन,' ती विज्ञले दाबी गरे, 'यसले गर्दा वास्तविक रोगी पनि पहिचान गर्न सकिन्न ।'
के हो यो रोग ?
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन -सीडीसी) को तथ्य पत्रअनुसार डेंगी एडिस नाउँ गरेको लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यसले गर्दा शरीरको रगत जम्न -क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसले घातक रूप लिए सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।
डेंगी विशेष प्रकारको भाइरसले गर्दा हुन्छ । यो भाइरस एडिस एगेप्टी नाउँको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट स्वस्थ व्यक्तिको शरीरमा पुग्छ । यो लामखुट्टेले हलचल नभएको स्वच्छ र सफा पानीमा फुल पार्छ । सीडीसीका अनुसार एक व्यक्तिबाट अर्को व्यक्तिमा भने संक्रमण फैलिँदैन । यसको लक्षण संक्रमण भएको तीनदेखि १४ दिनमा मात्र देखिन्छ ।
यस्तै लेप्टोस्पोरोसिस रोग लेप्टोस्पोरो नाउँको ब्याक्टेरियाले गर्दा हुने पशुजन्य रोग भएको सीडीसीले उल्लेख गरेको छ । यो रोग स्वस्थ
व्यक्तिमा संक्रमित पशुको पिसाबले फैलिन्छ ।
श्रोत: कान्तिपुर
No comments:
Post a Comment