युनिटी लाइफ इन्टरनेसनलका कार्यसमितिका एक जना सदस्यले एकै पटकमा ४२ लाख रुपैयाँसम्म कमिसन लिएको अनुसन्धानमा खुलेको छ । राजस्व अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा समूह अध्यक्ष काशीराम गुरुङले एकै पटकमा ४२ लाख रुपैयाँसम्म कमिसन लिएको देखिएको हो ।
माथिल्लो तहका व्यक्तिहरूले बढी कमिसन लिएर सदस्य बनाउने गरेको पाइए पनि यस विषयमा विस्तृत अध्ययन गर्न भने बाँकी रहेको विभागले जनाएको छ । विभागका अनुसार युनिटीले अहिलेसम्म ५८ हजार सदस्यले कमिसनबापत २ करोड ९ लाख ६१ हजार अमेरिकी डलर बराबर रकम लिएको पाइएको छ ।
विभागले युनिटीको कारोबार, सदस्य संख्या, संस्थाहरूसँगको आबद्धता र विभिन्न योजनाका विषयमा पहिलो चरणको अध्ययन सकिएको जनाएको छ । विभागले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो एक वर्षमा युनिटीको सदस्यता तीव्र रूपमा बढेको जनाएको छ ।
विभागका अनुसार युनिटीले प्रचार गरे जस्तो ६ लाख सदस्यता नभई विभागले नियन्त्रणमा लिएको कम्पनीको सर्भरबाट ३ लाख ६६ हजार ३ सय ४२ जना सदस्य रहेको पाइएको छ । अनुसन्धानका क्रममा युनिटी समूहभित्र २२ संस्था आबद्ध भएको पाइएको छ ।
छुट्टाछुट्टै संस्था र कम्पनीको रूपमा सञ्चालित संस्थाहरू डिपार्टमेन्टल स्टोर, बिमा पोलिसी, बैंकिङ, टुर्स एन्ड ट्राभल, एअरलाइन्स, रियलस्टेट तथा हाउजिङ, स्वास्थ्य, इन्भेष्टमेन्ट, साबुन उद्योग, वायो इनर्जी, मिडियाजस्ता क्षेत्रमा क्रियाशील रहेको पाइएको छ ।
विभागका महानिर्देशक महेश दाहालका अनुसार घनश्याम बस्ताकोटी नामक व्यक्तिका नाममा काठमाडौं, कास्की, धुलीखेललगायतका ठाउँमा जग्गा रहेको पाइएको छ । बस्ताकोटीको कम्पनीसँग कस्तो संलग्नता छ भन्नेबारे अहिलेसम्म पत्ता नलागेको र अनुसन्धान जारी रहेको महानिर्देशक दाहालले बताए ।
युनिटीका अरू सञ्चालकहरूको नाममा रूपन्देही र काठमाडौंका अरू विभिन्न ठाउँमा पनि जग्गा रहेको पाइएको र त्यस्तो जग्गाको कारोबार रोक्का गर्न सम्बन्धित मालपोत कार्यालयलाई निर्देशन दिइएको पनि विभागले जनाएको छ ।
युनिटीले आफ्ना सदस्यहरूलाई सेवा बिक्री गर्नका लागि १२ वटा योजना प्रस्तुत गरेको र चालू आर्थिक वर्षमा मात्र २ लाख १९ हजार ९ सय ८४ जना सदस्य बनाएको विभागले अनुसन्धानका क्रममा देखिएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट युनिटीले ५ करोड ३२ लाख ४ हजार ५ सय ६६ रुपैयाँ रकम संकलन गरेको पाइएको छ ।
“अघिल्लो आर्थिक वर्षमा युनिटीका जम्मा १ लाख ४ हजार ३ सय १ सदस्य मात्रै रहेका थिए,” विभागले भनेको छ । युनिटीको वेबसाइट अमेरिकाको पेन्सिलभेनियाबाट सञ्चालन हुने गरेको पाइएको छ । फिना वल्र्ड बहुउद्देश्यीय संस्था र बन्दिकापुर सहकारी संस्थासँग युनिटीको संलग्नता रहेको पाइएको विभागले जनाएको छ ।
सरकारले नेटवर्क व्यापार गरी उपभोक्ता ठगेको आरोपसहित युनिटीमाथि छानबिन गर्न वैशाख ९ गते राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक राममणि दुवाडीको संयोजकत्वमा नेपाल राष्ट्र बैंक र बिमा समितिका प्रतिनिधि रहेको एक छानबिन समिति गठन गरिएको थियो ।
समितिले जेठ ९ गते अध्ययन प्रतिवेदन बुझाई विभिन्न १२ वटा कसुरमा कारबाहीका लागि सिफारिस गरेको छ । समितिको सिफारिसअनुसार वैशाख १० गते अर्थमन्त्रालयल विभिन्न निकायलाई छानबिनका लागि पत्राचार गरिसकेको छ ।
ललितपुर जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर ललितपुरसमेतले छानबिन जारी राखेको जनाएको छ । त्यसैगरी राष्ट्र बैंक, बिमा समिति, धितोपत्र बोर्डले समेत छानबिन प्रक्रिया अगाडि बढाएका छन् ।
अहिले सरकारले युनिटीको सबै कारोबार रोक्का लगाएको छ भने यसका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरी खोजी कार्य गरिरहेको छ ।
युनिटीका सञ्चालक र कर्मचारीमध्ये प्रबन्ध निर्देशक शिशिर योगी, वित्त निर्देशक भीम गुरुङ, आईटी निर्देशक नेत्र राजवंशी, आईटी इन्चार्ज सुदीपघिमिरे, लेखापाल भीमबहादुर खत्री तथा मध्यमाञ्चल ग्रामीण विकास बैंकका तत्कालीन प्रबन्ध निर्देशक रामदेव यादव प्रहरीको हिरासतमा रहेका छन्
साभार:कारोबार
No comments:
Post a Comment