Skip to main content

उत्ताउली



कल्पना अधिकारी

दिउँसोदेखि नै मन अशान्त रह्यो, आफ्नै अन्तरद्वन्द्वले। जीवनको यो कस्तो क्षण हो? आज म आफ्नो मनको अवस्थाले आफै दंग परेँ। 'नीता दिदी, खाना तयार गरौं?' भान्साबाट सीताको आवाज आयो।
हुन्छ भन्दै म भान्सामा प्रवेश गरेँ। खाना खाएँ, सीतालाई काम सघाएँ, भान्साको काम सकेर कोठामा फर्किएँ। आज टिभी पनि हेर्न मन लागेन, रेडियो पनि खोलिनँ। म सोफामा ढल्किएर आफ्नै भावनाभित्र हराउँदै जान थालेँ।
बिर्सिदिऊँ भन्दा पनि आज मैले बिर्सन सकिनँ - जम्दाइको हसिलो अनुहार र फरासिलो बानी। 'एक्लै त साह्रै दिक्क पो भइँदोरहेछ त नानी। हैन तपाईंलाई कहिल्यै एक्लोपनले सताउँदैन?' एकदिन जम्दाइले मलाई सोधेका थिए।
निवृत्तीभरणमा सेवामुक्त भएका जम्दार विक्रमलाई नामले कमैले मात्र चिन्थे। जम्दार विक्रम सबैबीच जम्दाइबाट परिचित थिए। जम्दार दाइ भन्न खोज्दा सन्धी भएर जम्दाइ हुन्थ्यो।
'आफनो जीवन देखेर निरास बन्नहुन्छ त, जम्दाइ पनि,' मैले हासेर जवाफ फर्काएको थिएँ।
आज जम्दाइलाई मनभरी सम्झँदा मेरो मनको दर्पणमा मेरो बुबाको अनुहार देखियो, म अतिततिर फर्किएँ।
बैंसमा कहिलेकाहींँ कुनै लोग्ने मान्छेको नजिक पुग्न खोज्दा मलाई मेरो बाको याद आउँथ्यो - जतिखेर पनि ह्वास्स गन्हाउने मुख, लरखराएका गोडा, सधैं आमालाई पिट्ने हात। मनमा लोग्ने मान्छेप्रति घृणा उत्पन्न भएर मभित्रको लोग्ने मान्छेप्रतिको आकर्षण शिथिल बन्थ्यो।

आज जम्दाइको हसिलो अनुहारसँग झ्याम्मिन खोज्दा पनि बाको चित्र मनमा उब्जियो। म अतिततर्फ मोडिएँ। बाको दिनरातको पिटाइ सहन नसकेर वा भनौं मेरो मायाले रोक्न नसकेर, एकदिन आमाले सधैंका लागि बालाई त्याग्नुभयो। आमाले दोस्रो विवाह गरेको केही समयपछि बाले पनि दोस्रो विवाह गर्नुभयो। म कान्छी आमाको टोकसो र बाको गाली खाएर हुर्किएँ। बाको बानी सुधार्न कान्छी आमाले निकै प्रयास गर्नुभयो, तर सक्नुभएन। स्वास्नीको प्रेमभन्दा रक्सीको गन्ध मन पर्‍यो उहाँलाई। मातेका बेला बाटो काट्न लाग्दा ट्रकले ठक्कर दियो, उहाँ बित्नुभयो। बा, बितेपछि कान्छी आमाले पनि विवाह गर्नुभयो। कान्छी आमाले छोडेपछि म एक्लिएँ, मलाई आफू जन्मेको घरगाउँ पनि नरमाइलो लाग्यो। मेरो मन भतभती पोल्थ्यो, छटपटी भएर आउँथ्यो।
एकदिन गाउँका एक जना मामा पर्नेले मलाई बोलाएर विवाह गर्ने सल्लाह दिए। मैले मेरो आमाले बाबाट पाएको दुःख सम्भि्कएँ, मलाई लोग्ने मान्छेको कल्पना गर्दा बान्ता आउलाजस्तो भयो। विवाहको लागि इन्कार गरिदिएँ। अर्को पटक मामाले मलाई अर्को प्रस्ताव राख्नुभयो - विदेश गएर केही वर्ष काम गर्ने। उहाँको कुरा मलाई राम्रै लाग्यो।
मैले आफ्नो झिटी बेचेर खर्च जुटाएँ। मामाले बाहिर पठाउने व्यवस्था मिलाउनुभयो। म विदेशिएँ। मासिक पच्चिस हजार तलब र जुत्ता कारखानामा जुत्तामा तना राख्ने सजिलो काम भनेर आएकी मान्छे मासिक सात आठ हजारको घरेलु काममा परेँ।नौलो ठाउँ, नयाँ चालचलन देख्दा गाउँको सम्झनाले आँसु खस्यो।
म बसेकोभन्दा पल्लोपट्टि घरमा पनि कामदार नेपाली नै थिइन्। नजिकै भएर पनि हामी भेट गर्न पाउँदैनथ्यौं। दिउसो घरमा कोही नभएको मौका छोपेर हामी छतमा उक्लन्थ्यौं। चिठी लेखेर ढुंगामा बेथ्यर्ौं र एकअर्कासम्म पुर्‍याउँथ्यौं। कुनै-कुनै चिट्ठी छतसम्म नपुगी बीचमै खस्थ्यो। हामी खिसि्रक्क पथ्यर्ौं। कहिलेकाहीँ हामी एकअर्कालाई धेरै बेरसम्म हेराहेर गथ्यर्ौं, हातको इसाराले कुरा गर्दै मन हल्का पाथ्यर्ौं। कुरा गर्दागर्दै आँखा चिसा हुन्थे। हामी टाढा भएकोले एकअर्काको आँखाको आँसु त देख्न सक्दैनथ्यौं तर हातले आँखा पुछेको स्पष्ट देखिन्थ्यो। नरोऊ भन्दै इसाराले एकअर्कालाई सम्झाउँथ्यौं। देशको माया र आफ्नोपन विदेशमा झन् स्पष्ट देखिँदोरहेछ, मलाई लाग्थ्यो।
मेेरो मालिक-मालिक्नी कोमल मनका थिए। उनीहरूले कहिल्यै अभद्र व्यवहार र कडा बोली गरेनन्। टुटफुट अंग्रेजीमा मैले उनीहरूलाई मेरो कथा सुनाएको थिएँ। उनीहरू मलाई माया गर्थे। कहिलेकाहीँ मालिक-मालिक्नी मलाई लिएर बजार निस्कन्थे। म नेपालमा मामालाई फोन गर्थें। उनी असाध्य खुसी हुन्थे। सधैंझैं एक पटक नेपालमा फोन गर्दा मैले रुँदै फोन राखेँ। गाउँमा भएको दोहोरो भिडन्तमा गोलीले झ्याल छेडेर कोठामा बसेका मामाको देहान्त भएछ। मालिक-मालिक्नीले मलाई धेरै सम्झाए।
म सात वर्षपछि नेपाल फर्किएँ। जग्गा किनेर सहरमा घर बनाएँ। घर तयार भएपछि तलको तला भाडामा दिएँ, माथि आफू बसेँ। म विदेशमा चौबिस घन्टा खटिएको मान्छे - नेपाल फर्केपछि हात बाँधेर बस्न मन लागेन। घरपछाडिको खाली जग्गामा एउटा टहरो बनाएर मसला उद्योग सुरु गरेँ। पछि मैले मैनबत्ती बनाउने र धुप बनाउने काम पनि थपेँ। मेरा सामानले राम्रो बजार पाए। यसले मलाई समाजमा राम्रो परिचय दिलायो। म उद्यमी महिलाका रूपमा परिचित हुँदै गएँ। कसैलाई केही पर्दा खुलेर सरसल्लाह र सहयोग गर्ने मेरो बानीले मलाई विस्तारै समाजसेवातिर पनि ढल्कायो। यसरी म चाँडै नै समाजमा स्थापित हुँदै गएँ।
दुई वर्ष अगाडि तल बस्नेहरू घर बनाएर सरे। त्यसैबेला जम्दाइ आएर तलको तला पूरै भाडामा मागे, मान्छे बेस लाग्यो, दिएँ।
केही दिनमै जम्दाइ मसँग घुलमिल भए। उनको ठÒलो छोरा विदेशमा बस्दारहेछन्। सानो छोरा पनि दुई चार महिनापछि जाँदैरहेछन्। नेपाली हस्तकलाका सामानको व्यापार गर्ने जम्दाइ सहयोगी रहेछन्। कान्छो छोरा बाहिर जाँदा उनले मेरो सामान पनि बाहिर पठाए।
मेरो उद्योगबाट उत्पादित धुपले विदेशमा बास्ना छर्न पायो - जम्दाइको सहयोगले। म हर्षित हुँदै गएँ। कान्छो छोराको अनुपस्थितिले जम्दाइलाई एक्लो पारेछ। उनी सधंैजसो मसँग दिक्कदारी व्यक्त गर्थे। जम्दाइकी बालविधवा फूपु नै जम्दाइको दुःखसुखकी साथी बनिन् - छोराहरू विदेशिएपछि। उनी पहिल्यैदेखि जम्दाइसँग बसेकाले जम्दाइलाई छोराजस्तै गर्थिन्। जम्दाइ पनि फूपुलाई असाध्य माया गर्थे। ठÒलो परिवारमा हुर्किएका जम्दाइ श्रीमतीको मृत्युपछि छोराहरूको पनि सामिप्यता गुमाउँदा दिक्क हुनु नौलो थिएन।
'मन खाने कोही केटी भए त भाइको बिहे गरिदिन हुन्थ्यो - यसो बुझ्नू न, नानी,' एकदिन फूपुले मसँग भन्नुभयो।
'भैहाल्छ नि,' भनेँ। तर मैले त्यस कुरालाई गम्भीररूपमा लिइनँ। फूपुले अर्को पटक त्यो कुरो दोहोर्‍याइन्। मलाई उनीहरू डेरावालजस्तो लाग्न छोड्यो। उनीहरूले पनि मलाई आफ्नै जस्तो गर्न थाले। हामी घुलमिल हुँदै गयौं।
यस पटकको दसैं असाध्य रमाइलोसँग बित्यो। जम्दाइ गाउँ गएनन्। अष्टमीको दिन जम्दाइले मलाई खान बोलाए, नवमीमा जम्दाइ र फूपुलाई मैले खाना खुवाएँ।
'यो घर बनाउँदा कम दुःख पाएँ र, जम्दाइ,' एक दिन मैले पनि वह पोखेँ।
'एक्लो मान्छे किन दुःख नपर्नु, म त तपाईँलाई देखेर दंग पर्छु,' जम्दाइले भने।
'किन जम्दाइ?' मैले सोधँे।
'किन भन्नु? तपाईं त असाध्य साहसी। एक्ली भए पनि आफ्नो पौरखले सबैका अगाडि शिर ठाडो पार्नुभएको छ। तपाईंजस्ती नारी त लाखमा एक पाइएला मुस्किलले। मलाई त तपाईँ छोरा मान्छेजस्तो लाग्छ, हिम्मतिलो,' जम्दाइले भने।
'किन, नारी आँटिला हुँदैनन् र?' मैले सोधेँ।
'मैले हुँदैनन् भनेको हैन, कम हुन्छन् पो भनेको त!'
'साँच्चै नीता नानी, तपाईंलाई कहिल्यै एक्लोपनले टोक्दैन?' जम्दाइले जवाफपछि प्रश्न राखे।
'मेरो वचपन राम्रो परिवारमा बितेन। साँच्चै भनौं भने परिवार कस्तो हुन्छ मलाई थाहा छैन भन्दा पनि हुन्छ। फेरि एक्लै पनि त छैन नि। सीता छे, मुख बोल्ने बाटो छँदैछ, खासै सताउँदैन। मैले मनका कुरा खुलस्त पारेँ,' हामी यसरी नै खुलेर कुरा गर्थ्यौं। समय बित्दै गयो।
मनको हलचलसँगै आज म कहिले वर्तमान - कहिले अतित गर्दै फेरि वर्तमानतिरै धकेलिएँ।
'एकदिन घर बस्न पर्दा पनि दिक्क लाग्छ, निता नानी। आफ्नो भन्ने कोही भए पो,' जम्दाइले आज दिउसो मलाई भने।
'छोराहरू छन्, फूपु हुनुहुन्छ, त्यस्तो सोच्ने हो त?' मैले सधैंझैं उत्तर दिएँ।
'मान्छेको मनले साथी खोज्छ, निता नानी। एकदम नजिकको मन मिल्ने कोही पाए बिहे गरौं कि जस्तो लाग्छ। मलाई त जीवन एकदम खल्लो लाग्यो,' जम्दाइ साँच्चै उदास भए।
'कस्तो नुन नहालेको तरकारीजस्तो? कि रसमा नडुबाएको जलेबीजस्तो?' मेरो ठट्यौलो प्रश्नले जम्दाइ मुर्छा परेर हासे। मैले पनि साथ दिएँ।
'तपाईँ त छोराहरू भएको मान्छे, अब छोराहरू आउँछन्। उनीहरूको विवाह गर्ने, नातिनातिना हुन्छन्, घर उज्यालो हुन्छ, अनि त दिक्क मान्नुपर्ने हुँदैन, हैन र?' हाँसोपछि मैले भनेँ।
'घर उज्यालिए पनि मन त अँध्यारै रहन्छ। यसो बरु कोही भए कुरा चलाउनोस् न, नानी,' जम्दाइ गम्भीर थिए।
यसपटक म हासिनँ। 'भैहाल्छ नि,' मैले भनेँ। जम्दाइसँग छुट्टिए पनि म उनीसँगै अल्भि्करहेँ। मनभरी उनका कुरा सल्बलाउन थाल्यो।
जीवनमा पहिलो पटक आज केही अपुग भएको महसुस भयो, मलाई।
के साँच्चै मलाई कहिल्यै एक्लोपनले पछ्याएन त? मैले प्रश्न गरेँ मेरै मनलाई।
कहिलेकाहीँ जीवनमा एक्लो महसुस नगरेको होइन तर साथी खोज्ने जमर्को पो गरिएन त! जम्दाइका त छोरा छन्, बाबु भनेपछि हुरुक्क हुँदारहेछन्। हप्तैपिच्छे फोन गर्छन्। मेरो त आफ्नो भन्ने कोई छैन। आज मलाई आफू एकदम एक्लोजस्तो लाग्यो। जम्दाइले किन सधैं एक्लै भए भनेका होलान्? के चाहन्छन् उनी? मेरो आँखामा जम्दाइ आए। एकाउन्न बाउन्न वर्षका भए पनि पैंतालिस/छयालिसका जस्ता देखिन्छन् बुढा। आज मेरो सोचाइले मलाई नै लाज लाग्यो। सायद उनी मबाट एक्लोपन मेटाउन चाहन्छन्, मैले सोचेँ।
मलाई एकदिनको घटना याद आयो।
हामी बाहिर पठाउने सामान किनमेल गर्दागर्दै थाक्यौं र एउटा खाजाघरमा छिर्‍यौं।
'आज कति धेरै सामान किनियो, हो कि जम्दाइ? बजार आउन त दुई जना नै चाहिन्छ। एक जनाले किन्न बिर्सेको सामान अर्कोले सम्झाउँछ,' चिया पिउँदै मैले भनेँ।
जे काम पनि साथी भए धेरै सजिलो पर्छ। अठतिस/चालिस वर्ष भनेको केही होइन। बरु यसो मन मिल्ने साथी खोजे हुन्छ नि। जम्दाइलाई कुरा चपाउन आउँदैन। उनको यो स्वभाव मलाई औधी मनपर्छ। त्यो दिन किनेका सामान त्यसै दिन कार्गो गरेर हामी राति घर फर्कियौं।
जम्दाइले मलाई पनि विवाह गर्न उकासेका छन्। आफूले पनि मन मिल्ने केटी पाए बिहे गर्न चाहेका छन्। मलाई केटी खोज्न पनि भनेका छन्, कुरा स्पष्ट छ।
जम्दाइ थाहै नपाई मेरो मनमा बसेछन्। त्यसैले त यो उमेरमा आएर जम्दाइलाई साथी बनाउन तम्सेँ। 'अरूको मन त्यसरी सुटुक्क कब्जा गर्ने? यो तिम्रो दुस्मनको मोर्चा हो र बदमास,' मैले जम्दाइलाई मनमनैै गाली गरेँ।
विवाहको सोच मनमा आउँदा त मनै फुरुंग हुँदोरहेछ। साँच्चै विवाह नै गर्दा त कस्तो होला? अविवाहितका लागि विवाह उत्सुकताको विषय हो। नचाहँदा नचाहँदै पनि विवाहबारेमा धेरै सोचेँ। मलाई जम्दाइसँग आजै विवाहको प्रस्ताव राख्न मन लाग्यो।
आज मेरो आमा भएको भए म लजाउँदै टाउको निहुराएर जम्दाइसँग कुरा चलाउन ढिपी गर्थें। मलाई आमाको याद आयो।
जम्दाइकी फूपु अचेल गाउँ जानुभएको छ, आएपछि उहाँमार्फत कुरा चलाउँ कि जस्तो लाग्यो। सोचेँ, उहाँ त जम्दाइपट्टिको मान्छे पर्नुभयो। यस्तो कुरा त मेरा आफन्तले लैजानुपर्ने हो। मेरो आफ्नो भन्ने को नै छ र? होस् बरु आफै कुरा गर्छु। म मेरो विवाह गर्न कसिएँ।
भित्ताको घडीमा नौ बज्न आँट्दै थियो। म आफ्नो कोठाबाट निस्किएर तल ओर्लिएँ। मेरो मुटु ढक्क फुलेझैं भयो। म लजाउँदै माथि उक्लिएँ।
छ्या बैंस छँदा नलागेको काउकुती आज किन लागेको होला? सायद मैले मेरो मनलाई सधैं नैतिकताको पिजडाभित्र थुनेछ। मेरो मनको बन्द पिजडाको ढोका आज अन्जानमै खुल्यो कि? आज मलाई फ्रायडवादको रंगमन्चमा फ्रायदवादकै पछ्यौरी ओढेर छमछम नाच्न मन लाग्यो।
तल जाउँ कि नजाउँ? जाउँ जम्दाइले के सोच्लान्? नजाउँ जम्दाइसँग मेरो कुरा कसले गरिदिन्छ? आजसम्म सबै काम आफै गर्दै आइयो। यसका लागि मात्र किन खेताला खोज्नु? म फटाफट तल ओर्लिएँ।
'ए, नीता नानी, आउनोस्, आउनोस्,' जम्दाइले मलाई देख्नासाथ भने। म भित्र पसेँ। जम्दाइले टिभीको आवाज सानो पारे।
'जम्दाइ, म त तपाईंसँग केही सल्लाह गर्न आएकी,' मैले जम्दाइलाई नहेरी भनेँ।
'भैहाल्छ नि, मैले सक्ने सहयोग कहिल्यै नाइँ भनेको छु र?' जम्दाइले मलाई हेरे।
'यो त तपाईंकै कुरा हो भन्दा पनि हुन्छ, मेरो भन्न पनि मिल्छ,' किन हो घाँटी बसेझैं बोल्न गाह्रो भो मलाई।
'नानीलाई पैसाको खाँचो पर्‍यो क्यारे? आफूसँग भएको पैसा सबै सामानमा फसेको छ। यही बेला छोराले पैसा पठाउन ढिला गर्‍यो। खोज्नै परे त जसरी पनि खोजौंला,' म घरभाडाको कुरा गर्न आएको ठानेछन् जम्दाइले।
'मैले कहिले भाडा मागेकी छु र? अरू नै विषयमा कुरा गरौं कि भनेर,' म लज्जावती झारझैं खुम्चिँदै गएँ।
'अरू नै कुरा? के कुरा?' जम्दाइ मलाई हेरेर मुस्कुराए।
'जम्दाइ ...,' म बोल्न चाहेर पनि बोल्न सकिनँ।
जम्दाइले मेरो मुखमा हेरिरहे।

'जम्दाइ, खाना खानुभयो त?' मैले जम्दाइसँग आँखा जुधाउन सकिनँ, भुइँतिरै हेरिरहेँ।
'खाएँ। नानी के कुरा हो, म पनि सुनौं न,' विषयवस्तु बुझ्न जम्दाइ हतारिए।
'जम्दाइ, तपाईँले भनेको होइन - एक्लो जीवन खल्लो हुन्छ, दिक्कलाग्दो हुन्छ भनेर।
मैले त्यसबारे निकै सोचेँ। मलाई तपाईंका कुरा मनासिव लाग्यो। मैले तपाईँका लागि केटी खोजेँ, जम्दाइ। मैले आजै खोजेँ,' मलाई बोल्दा ऐठन हुँदाजस्तो अप्ठ्यारो भयो।
'केटी खोजेँ, को केटी?' जम्दाइले अचम्म मानेको उनको अनुहारबाट स्पष्ट देखिन्थ्यो।
आज मलाई आफन्तको आवश्यकता खट्कियो। मेरा अभिभावक भैदिएको भए आज यो स्थिति सृजना हुने नै थिएन। उनीहरूले कुरा चलाउँथे म लजाउँदै आफ्नो कोठामा बसेको हुन्थेँ। मेरो मन रोयो, म केही बोल्नै सकिनँ।
'के सोचेको, नीता नानी?' जम्दाइको सोधाइले म झस्किएँ।
'जम्दाइ, तपाईँलाई मेरोबारेमा सबै कुरा थाहा छ। म असाध्य बोलक्कड छु। आज मैले तपाईंलाई मन नपर्ने केही कुरा भनिहालेँ भने मेरो परिस्थितिको दोष मानेर मलाई माफ गर्दिनोस्, ल!'
'नानी के कुरा हो खुलस्त भन्नोस् न, मैले त बुझ्नै सकिनँ।'
'एक्लो यात्राभन्दा मन मिल्ने साथीसँगको यात्रा रमाइलो हुन्छ भनेको होइन, जम्दाइ? मलाई तपाईंको कुरा एकदम ठिक लाग्यो। तपाईँ पनि मलाई असाध्य मनपर्छ। तपाईँको खुल्ला स्वभावले मलाई प्रभावित बनायो। तपाईँलाई भेटेपछि मैले पनि आफ्नो जीवनबारे सोचेँ। भविष्य सुदृढ पार्ने चाहना गरेँ। किन कुरा घुमाउनु र जम्दाइ, म तपाईंसँग विवाह गर्न चाहन्छु।' मेरो शरीर सिरिंग भयो।
'नीता नानी, यो के भन्दै हुनुहुन्छ?' जम्दाइको स्वर केही कडा भयो।
'जम्दाइ, तपाईँले केटी खोज भनेको होइन? तपाईँले आफ्नो एक्लोपनको भारी ममाथि बिसाउँदा बिसाउँदा म साह्रै कमजोर भएछु वा मलाई पनि मेरो एक्लोपनले सतायो - त्यो त थाहा छैन तर मलाई विवाह गर्ने मनस्थितिसम्म तपाईँले नै पुर्‍याउनुभयो। तपाईँलाई नभेटेको भए विवाहको कल्पना मेरो मनमा आउँदैनथ्यो होला,' म लजाई नै रहेँ।
'चुप लाग्नोस्। एउटै घरको परिवारजसरी बसेको मान्छेमाथि पाप चिताउने? ल भैगो मसँगै बिहे गर्न मन रहेछ, फूपुसँग भनेको भए हुन्नथ्यो? केटी भएर बिहे गर्न मन लाग्यो भन्दै हिँड्न लाज लागेन?' जम्दाइ रिसाए।
'जम्दाइ, तपाईंलाई मेरोबारेमा सबै कुरा थाहा छ। एक्लो मान्छे के गर्नू? सोचेको पनि थिएँ, फूपु आएपछि कुरा गरौं कि भनेर। फेरि सोचेँ फूपु त तपाईंकै मान्छे हुनु भो। मेरो आफन्त त कोही छैनन्। फूपुभन्दा त मेरो लागि तपाईँ नै नजिकको जस्तो लाग्यो। कुरा पनि त फूपुको होइन। हाम्रो हो, हैन र? जम्दाइ, एउटा केटाले एउटी केटीसँग सजिलै आफ्नो प्रस्ताव राख्न सक्छ तर त्यही कुरा केटीले गर्दाचाहिँ लाजमर्दो हुन्छ र?' मैले बल्ल राम्रोसँग जम्दाइको मुखमा हेरेँ।
'जीवनमा कति कुरा यस्ता हुन्छन् जुन आफ्ना लागि अरूले गरिदिनुपर्ने हुन्छ। तपाईं भन्नुहुन्थ्यो नि नीता, बचपन राम्रो परिवारमा बितेन भनेर। यो त्यही कुसंस्कारको प्रभाव हो। मैले तपाईँलाई आफ्नो बाहुबलको आर्जनले समाजमा शिर उठाएकी आदर्शनारी ठानेर संगत गरेँ। तर तपाईं त उत्ताउली पो हुनुहुँदोरहेछ,' जम्दाइ रिसले राता भए।
'किन त्यसो भन्नुहुन्छ? सिधै भन्नोस् न - मलाई एउटी पुरुषको सहाराविना बाँच्न नसक्ने लोग्नेलाई देवता मान्ने आइमाई चाहिएको हो। लोग्नेलाई सहयात्री मात्र सम्भि्कने साथी खोजेको होइन। तपाईँले भन्नुभयो नि - आफ्नो बिहेको कुरा आफै गर्न लाज लागेन भनेर। तपाईं दुई जवान छोराका बाबु भएर त बिहे गर्छु भन्दै हिँड्न अप्ठ्यारो मान्नुभएन। म त अविवाहित, मलाई केको लाज?
'तपाईँ मलाई सधैं पुरुषझैं साहसी, पुरुषझैं निडर भनेर भन्नुहुन्थ्यो। म त्यसलाई आफ्नो पौरखको प्रशंसा सम्झेर गदगद हुन्थेँ। आज आएर मैले त्यसको अर्थ बुझेँ। तपाईँलाई नारी वीरता पच्दै पच्दैन,' मैले जम्दाइको आँखामा आँखा मिलाएँ।
'नीता नानी!' जम्दाइ छक्क परे - मेरो क्रोध देखेर।
'के नीता नानी, उत्ताउली भन्नोस् न। हेर्नोस् जम्दाइ, मैले तपाईंलाई आफूलाई राम्ररी बुझेको असल मान्छे ठानेर भावनात्मक सहयोगको आकांक्षाले विवाहको प्रस्ताव राखेकी हुँ। बैंसको उन्मादलाई थाम्न नसकेर पोई खोजेकी होइन, बुझ्नु भो?' म जम्दाइको मुखै नहेरी माथि उक्लिएँ।
म कोठामा पसेको देखेर सीताले दुवैको लागि दुधको गिलास लिएर आई।
'गृहकार्य सक्यौ?' मैले सोधेँ।
'सकिसकेँ,' ऊ मेरो नजिकै बसेर दुध पिउन थाली।
विचरी सीता कति माया गर्छे मलाई! आमा बुबा, भाइबहिनी भए पनि चाडपर्वमा ऊ गाउँ जान मान्दिन - म एक्ली हुन्छु भनेर। के यही सीता पछि गएर मेरो सहारा हुन सक्दिन र? मैले विस्तारै भर्खरै प्रवेश गर्न लागेका किशोर अवस्थाको सुन्दर मुहार हेरेँ, हेरिरहेँ। सीताको निश्चल अनुहारले मलाई एक प्रकारको मिठो शितलता प्रदान गर्‍यो। मनमा केही शान्ति महसुस भए पनि मेरो कानमा जम्दाइले भनेको शब्द उत्ताउली गुन्जिरह्यो - मुटुलाई चोट पुर्‍याउँदै।

Comments

Popular posts from this blog

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?

खुमल टोल विकास संस्था बारे छोटो जानकारी