Skip to main content

भारतको आकाशमा ‘क्याप्टेन वेद उप्रेती’


भारतको आकाशमा
क्याप्टेन वेद उप्रेती


अगाती विमानस्थल, लक्षदीप, अरब सागर ।

“...श्रीनगर टावर किङफिसर ४६३३ फाइनल...”
“...किङफिसर ४६३३ क्लियर्ड टु ल्याण्ड...”

केही दिनअघि म र श्रीनगर टावरबीचको संवाद हो यो। काश्मिर, श्रीनगर उपत्यकाको चारैतिरका सेता हिमालहरूबीच उड्दै विमानस्थलमा अवतरण गर्नु कम रोमाञ्चक थिएन।

२०३२ सालमा आठ कक्षा पढ्दा ट्वीनअटर चढेर पहिलो पटक महेन्द्रनगरबाट धनगढी १० मिनेट उड्न पाउँदा औधी खुशी लागेको थियो। त्यो उडानका दृश्यहरू कैयौं वर्षसम्म सम्झ्नामा रहिरहे पनि त्यतिबेला पाइलट बन्छु भन्ने सोचेको थिइनँ। जीवनयात्रा पनि बुझ्िनसक्नु हुँदोरहेछ। नेपाली सेनामा जागिर खाएको मान्छेलाई भारतको नेशनल डिफेन्स एकेडेमी पुना जाने अवसर जुर्‍यो। पुनामा हावामा तैरिने हवाईजहाज ग्लाइडरको ककपिटभित्र बस्न पुग्दा डर र रमाइलो दुवै लागेको थियो। ग्लाइडरमा करिब ५० फ्लाइट गरेपछि इण्डियन एयरफोर्सको फाइटर ट्रेनरमा १०० घण्टा पुर्‍याएर अमेरिकाबाट कमर्सियल पाइलट गर्दै २०५४ सालमा नेकोन एयरको सानो क्याराभान हवाईजहाज लिएर महेन्द्रनगर एयरपोर्टमा अवतरण गर्दा सपनाजस्तै लागेेको थियो।

नेकोन एयर टाट पल्टेपछि त्यसका सबैजसो क्याप्टेनसँगै म पनि भारतको डेकन एयरमा पुगेँ। एयर डेकनलाई किङफिसरले किनेपछि संसारका करिब २०० विदेशी पाइलटसँगै भारतका विभिन्न गन्तव्यमा उडिरहेको छु। किङफिसरका मुख्य सेवा भारतका ठूला मेट्रोसिटी बैङ्गलोर, चेन्नई, हैदरावाद, मुम्बई, दिल्ली र कोलकातामा केन्द्रित छन्। एउटा मेट्रोमा ३०-४० जना क्याप्टेनको पोस्टिङ हुन्छ र उनीहरूले आ-आफ्नो शहरबाट नजिकका क्षेत्रहरूमा हुने फ्लाइट गर्नुपर्दछ। इन्स्ट्रक्टर क्याप्टेनले चाहिँ प्रायः सबै मेट्रोहरूबाट उडान गर्नुपर्ने हुनाले म प्रत्येक दिन नयाँ-नयाँ स्थानमा निकै चाख लिएर उडान गर्दछु। पाँच वर्षमा भारतका करिब ७० वटा विमानस्थलमा अवतरण गर्दाका कैयौं अविस्मरणीय क्षणहरू छन्।

भारतको सबैभन्दा व्यस्त दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दा निकै संयमशील हुनुपर्दछ। दिल्ली एयरपोर्ट र दिल्लीको आकाशमा जहाजहरूको ट्राफिक जामका कारण आधा घण्टादेखि एक घण्टासम्म निकै पट्यारलाग्दो होल्डिङ हुन्छ। तर, दिल्लीबाट हुने श्रीनगर धर्मशाला, कुलु र शिमला फ्लाइटले भने नेपालको झ्ल्को दिइरहन्छन्। हिउँदमा दिल्लीबाट राजस्थानका जयपुर, उदयपुर, जोधपुर र जसमेर उड्न मलाई बढी मनपर्छ। जसमेर भारत पाकिस्तानबीचको मरुभूमिमा बसेको सानो शहर हो। मरुभूमिमाथिबाट उड्दाको दृश्य निकै लोभलाग्दो हुन्छ।

भारतको दोस्रो व्यस्त एयरपोर्ट मुम्बईको क्षत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बईमाथि उडेर शहरको अवलोकन गर्दा म साह्रै रमाउँछु, हालै निर्मित बान्द्रा-बर्ले सिलिङ्क पुल निकै आकर्षक देखिन्छ। भारतका मेट्रो शहरमध्ये मलाई निकै मनपर्ने बैङ्गलोर हो, जहाँ मेरो स्थायी बसोबास छ। राम्रो मौसम र उडान हुने रमाइला सेक्टर बैङ्गलोरका विशेषता हुन्। मेरो विचारमा भारतको सबैभन्दा सुन्दर विमानस्थल लक्षद्वीपको अगाती हो, जहाँ बैङ्गलोरबाट कोचिन हुँदै उड्न निकै लालायित हुन्छु। बैङ्गलोरबाट तिरुपति विशाखापटनम र गोवा उड्न पनि मज्जा लाग्छ।

चेन्नईबाट हिउँदका उडान पनि त्यत्तिकै रमाइला हुन्छन्, तर गर्मीयाममा भने त्यहाँको गर्मी थेग्न हम्मे पर्दछ। त्यहाँबाट लामो दूरीका उडान हुने भएकोले फ्लाइट गर्न बढी सजिलो हुन्छ। त्रेवेन्द्रम र गोवाको नाइट स्टप मलाई औधी मनपर्छन्, कम्तीमा महिनाको एकपटक गोवाको फ्लाइट गर्न चुक्दिनँ। हैदरावादबाट धेरै बैङ्गलोर र चेन्नईतिरका फ्लाइट गर्नुपर्ने हुनाले खासै नयाँपन हुँदैन, तर आफूले तीन वर्ष तालिम गरेको शहर पुनाको नाइट स्टप चाहिँ मनपर्छ। मेट्रो सिटीहरूमा हैदरावाद शहर मलाई निकै राम्रो लाग्छ। त्यहाँको राज्य सरकारले शहरलाई निकै आधुनिक ढाँचामा ढालेको छ। काठमाडौंले पनि हैदरावादबाट थोरबहुत सिक्न सक्छ।

कोलकाताबाट भारतका नर्थइष्ट सेक्टरको बागडोग्रा फ्लाइट गर्दा नजिकैको नेपालमाथि उडान गर्ने नेपाली पाइलटहरूसँग रेडियो सेटमा कुरा गर्न पाइने हुनाले खुशी लाग्छ। कोलकाताबाट गुहाटी नाइट स्टप र त्यहाँबाट उडान गरिने इम्फाल, नागाल्याण्डको डिमापुर पनि रमणीय छन्। मिजोराम लिङपुई (ऐजवल) उडान गर्दा नेपालमाथि नै उडेजस्तो लाग्छ।

एटीआर-७२ जहाजमा भारतका ७० शहरमा उडान गर्दाका प्रत्येक क्षण अविस्मरणीय छन्। इन्त्रि्कडिबल कलरफुल इण्डिया नाउँको मेरो नयाँ किताबको लागि फोटोग्राफी सङ्कलन गर्न यो नौलो अवसर बनेको छ। तर, आफ्नै देशका पहाड, मैदानमाथि उड्न नपाउनुको पीडाले भने सधैं पिरोलिरहन्छ। त्यसैले प्रत्येक दुई महिनाको उडानपछि छुट्टीमा नेपाल आउँछु र माउन्टेन फ्लाइट तथा हिमाली क्षेत्रमा यात्रु भएर उडानको मज्जा लिने गरेको छु। पाँच वर्षदेखि आफ्नो देशको सेवा गर्ने मौका नपाएकोले दुःख त लाग्छ, तर २१औं शताब्दीको ग्लोबलाइजेसनको जमानामा संसारको जुनै कुनामा भएपनि गौरव गरेर र समर्पित भएर काम गर्नुपर्दछ जस्तो लाग्छ। भारतको आकाशमा ८-१० वर्ष उड्दा मैले यसबीचमा भारतले धेरै उन्नति गरेको र यसबाट नेपालले पनि पाठ सिक्नुपर्ने महसूस गरेको छु।

आकाशमा धेरै सोच्ने समय हुँदैन, टावरले “किङफिसर ४६३३ डिसेन्ड टू टेन थाउजेण्ड फिट...” भनेको सुन्दा अटो पाइलटलाई डिसेन्ट गर्ने निर्देशन दिएर चारैतिर सुन्दर दृश्यहरूको मजा लिन थाल्छु र फेरि क्यामेरा समाउँछु।

Comments

Popular posts from this blog

राजमार्गमा यौन !

कवि बुद्धिसागर फिल्म हेर्न जय नेपाल हल पुगेछन् । फिल्म सुरु हुनुअघि टाइटानिकको संगीतमिश्रति धुन भएको कन्डमको विज्ञापन बजेछ । बुद्धिसँगै बस्ने केटोले एउटी केटीलाई कोट्याउँदै भनेछ हेर त, तिम्रो विज्ञापन बज्यो ।' बुद्धि झस्किएछन् । थाहा भयो, ती तिनै युवती रहिछिन् जो हलको ठूलो पर्दामा कन्डमको विज्ञापनमा छाएकी छिन् र त्यो विज्ञापन हेर्दै हलका केटाहरू गल्लल हाँस्दै छन् । कन्डमको विज्ञापनमा छाएकी ती नायिका नम्रता श्रेष्ठ लाजले रातो भइछिन् । 'ती यति लजाइन् कि भनिसाध्य छैन,' बुद्धिले सुनाए, 'कन्डमको विज्ञापनमै देखिने केटी त कन्डमबाट यति लजाउँछिन् भने अरूको हालत के होला ?' हामीलाई खोज्नु थियो- के तन्नेरी पुस्ता यौनमा उदार छ ? 'यौन चाहना सबैमा हुन्छ, कसैले लुकाउँछन् कसैले खुल्ला देखाउँछन्,' विनीताले उदार भएर बोलिन्, 'हामीले आफ्नो 'बेड रिलेसनसिप'बारे पनि खुलेर भन्न सक्नुपर्छ ।' अहिलेकी 'हट' मोडल विनीता साथीहरूसँग यौनका बारेमा कति खुलेर कुरा गर्छिन् त ? 'यौनबारे साँच्चै खुलेर कुरा गर्नुपर्छ, म यौनमा खुल्न रुचाउँछु । साथीहरूसँग आफूलाई भएको यौन

एक पल्ट बाईक हेरी आनन्द लिने हो कि?

खुमल टोल विकास संस्था बारे छोटो जानकारी